काठमाडौं। अमेरिकी इतिहासमै लामो मानिएको ४५ दिनदेखि जारी सटडाउन अन्त्य भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै सरकारी सटडाउन अन्त्यको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
खर्चसम्बन्धी विधेयकमा रिपब्लिकन र डेमोक्र्या सांसद विभाजित भएपछि सिनेटबाट पारित नहुँदा संघीय सरकारका १४ लाख बढी कर्मचारी तलबविहीन थिए भने कैयौं आन्तरिक उडान प्रभावित र बन्द हुन पुगेका थिए।
विधेयकमा हस्ताक्षर गर्दै ट्रम्पले डेमोक्रेटलाई ‘अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी सटडाउन सिर्जना गरेको’ आरोप लगाए। उनले भने, ‘मेरो हस्ताक्षरसँगै अब संघीय सरकारले सामान्य काम पुनः सुरु गर्नेछ। प्रशासन तथा कंग्रेसका साझेदारले जीवनयापनको लागत घटाउन, सार्वजनिक सुरक्षा पुनस्र्थापित गर्न, हाम्रो अर्थतन्त्रको विकास गर्न र अमेरिकालाई सबै अमेरिकीका लागि फेरि सस्तो बनाउन काम जारी राख्नेछन्।’
अमेरिकाको माथिल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयकमा सटडाउन सुरु भएदेखि ट्रम्प प्रशासनले बर्खास्त गरेका संघीय कर्मचारीलाई पुनर्बहाली गर्ने र भुक्तानी दिने विषय समावेश छ।
प्याकेजमा सांसदको सुरक्षाका लागि २० करोड ३५ लाख डलर र सर्वोच्च अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि थप २ करोड ८० लाख डलर समावेश छन्। यसअघि विवादित भनिएको अफोर्डेबल केयर एक्ट (एसीए)मार्फत स्वास्थ्य बिमालाई सस्तो बनाउने परिस्कृत कर छुटको विषय पनि समावेश गरिएको छ।
यसअघि गत आइतबार सिनेट बैठक बसेर समस्या समाधान गर्न सत्तारुढ रिपब्लिकन र डेमोत्र्mयाट सहमत भएसँगै ४५ दिन लामो सटडाउन अन्त्यको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका थिए। अमेरिकी माथिल्लो सदन सिनेटमा फन्डिङ बिल पारित नहुँदा सटडाउनको अवस्था आएको थियो।-एजेन्सी