काठमाडौं। जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ। यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीको पुष्टि हो ।
गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी योजनाको उल्लेख गर्दै ‘उनीहरूले १० अर्ब डलर खर्च गर्न जाँदै छन्, नयाँ कार प्लान्ट निर्माण गर्न लाग्दैछन् र यो विभिन्न अमेरिकी राज्यमा हुनेछ’ भनेका थिए। तर, त्यतिबेला टोयोटाका वित्त प्रमुख केन्टा कोनले ‘१० अर्ब डलरको यो तथ्यांक पुष्टि गर्न कठिन’ भएको भन्दै राष्ट्रपति ट्रम्पका टिप्पणीबारे प्रत्यक्ष रूपमा कुनै टिप्पणी गरेका थिएनन्।
बिहीबार जारी विज्ञप्तिमा कम्पनीले आगामी पाँच वर्षभित्र अमेरिकामा १० अर्ब अमेरिकी डलरको ‘अतिरिक्त लगानी’ गर्ने स्पष्ट घोषणा गरेको छ। टोयोटाका अनुसार यो नयाँ लगानीले अमेरिकामा कम्पनीको कुल लगानी लगभग ६० अर्ब डलरमा पुग्नेछ। यसको सुरुआत करिब ७० वर्षअघि कम्पनीले आफ्नो अमेरिकी सञ्चालन प्रारम्भ गर्दा भएको थियो।
यो घोषणा विद्युतीय तथा हाइब्रिड सवारीसाधनका लागि लिथियम–आयन ब्याट्री उत्पादन गर्ने पहिलो अमेरिकी कारखाना उद्घाटनसँगै गरिएको हो। नर्थ क्यारोलिनामा स्थापना गरिएको उक्त कारखाना अमेरिकामा टोयोटाको ११औं उत्पादन केन्द्र बनेको छ, जसमा करिब १४ अर्ब डलर बराबरको पुँजी लगानी र पाँच हजार १०० नयाँ रोजगारी सिर्जना हुने कम्पनीको दाबी छ।
यसअघि जापान र अमेरिकाबीच सवारीसाधनमा लाग्ने कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याउने सहमति भएपछि टोकियो सरकारले अमेरिकी अर्थतन्त्रमा ५ खर्ब ५० अर्ब डलर लगानी गर्ने निर्णय गरेको थियो।
ट्रम्प प्रशासनले जापानी अटो निर्मातालाई आफ्ना अमेरिकी कारखानामा बनेका सवारीसाधन जापानमै निर्यात गर्न प्रोत्साहित गर्दै आएको छ। टोयोटाका सार्वजनिक मामिलाका प्रमुख हिरोयुकी उडाले टोकियो मोटर शोमा भनेका थिए, ‘अमेरिकासँग जापानी प्रमाणीकरण मापदण्ड समायोजन गर्ने प्रयास भइरहेको छ। यदि यी तयारी सफल भए हामी यसबारे गम्भीरतापूर्वक विचार गर्न इच्छुक हुनेछौं।’
टोयोटाका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा बिक्री गरेका सवारीसाधनमध्ये करिब आधा विदेशबाट आयात गरिएका थिए। तीमध्ये अधिकांश क्यानडा र मेक्सिकोमा बनेका सवारीसाधन थिए भने जापानमा उत्पादन गरिएका करिब २ लाख ८१ हजार गाडी पनि अमेरिकामा बिक्री भएका थिए।
यो लगानी योजनाबाट टोयोटाको अमेरिकी बजारमा उपस्थितिलाई अझ सुदृढ बनाउने र विद्युतीय सवारीसाधन उत्पादनमा कम्पनीको अग्रणी भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ।–एजेन्सी