काठमाडौं । एनआईसी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । लकडाउनको कारण एन नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ । ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।
व्यवसायीहरूले व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहित बैंकमा ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।
बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।
बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्युआर प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।
व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।
त्यसपछि बैैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यूआर प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्युआर स्वयम् प्रिन्ट गरी ग्राहक महानुभावहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नुहुनेछ ।
कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्युआर स्ट्यान्ड भ व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नुहुनेछ । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्युआर स्ट्यान्ड प्रदान गर्नेछ ।
नेपाल राष्ट्र बैंकले २०७६ चैत्र ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गबाट प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सकिनेछ ।