काठमाडौं। नेपालमा वार्षिक ३५ लाख टनभन्दा बढी मकै आपूर्ति भइरहेको छ। तर, यो मकै कहाँ आपूर्ति हुन्छ? भन्ने यकिन तथ्यांक पाउन मुस्किल छ। नेपालमा वार्षिक करिब १० प्रतिशत मकै आयातित भइरहेको छ भने ९० प्रतिशत आन्तरिक उत्पादन गरेको सरकारी तथ्यांकले देखाउँछ।
यति ठूलो परिमाणको मकै कहाँ उपयोग भइरहेको छ? भन्ने तथ्यांक भेटिन मुस्किल छ। यो मकै विशेषतः पशुपन्छी क्षेत्र र खाद्यन्नमा प्रयोग हुने दाबी गरिएको छ। मकै अधिक मात्रमा दाना उत्पादनमा प्रयोग हुने दाबी गरिएको छ। तर दाना उत्पादकमा वार्षिक सात लाख टन मात्रै प्रयोग हुने उद्योगीले दाबी गरेका छन्। ‘बाँकी २८ लाख टन मकै कहाँ जान्छ?,’ भन्ने नेपाल दाना उद्योग संघको अध्यक्ष रविन पुरीले प्रश्न छ।
नेपालमा आपूर्ति भएको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने माग केही बढेको देखिन्छ। यसमा आयातितभन्दा उत्पादन वृद्धि भएको तथ्यांकले देखाउँछ। सबैभन्दा बढी मकै प्रयोग गर्ने पशुपन्छीको दाना उत्पादन गर्न देशभर ११३ वटा उद्योगहरूले वार्षिक सात लाख टन खपत गर्ने देखाउँछ।
अध्यक्ष पुरीका अनुसार नेपालका दाना उद्योगले वार्षिक १२ लाख टन दाना उत्पादन गर्छन्। यी उद्योगहरूको कुल उत्पादन क्षमता १८ लाख टन भए पनि हाल १२ लाख टन मात्र उत्पादन भइरहेको छ।
पछिल्लो पाँच वर्षमा ३ देखि ५ लाख टन मकै आयात भएको भन्सार विभागको तथ्यांक छ। स्वदेशी उत्पादन र आयातित मकै हेर्ने हो भने वार्षिक ३५ लाख मकै नेपालमा खपत भएको देखिन्छ।
‘दाना बनाउन मकै, भटमासको पिना, राइस ब्रान, तिलको पिना र तोरीको पिनालगायतका बाइप्रोडक्टहरू प्रयोग हुन्छन्,’ उनले भने, ‘भटमासको पिना शतप्रतिशत विदेशबाट आयात गर्नुपर्छ। एक टन दाना उत्पादनका लागि करिब ६० प्रतिशत मकै र ४० प्रतिशत अन्य बाइप्रोडक्टहरू आवश्यक पर्छ।’
पुरीका अनुसार, नेपालमा दानाको खपत वार्षिक १२ लाख मेट्रिक टन भए पनि पछिल्लो चार–पाँच वर्षदेखि पोल्ट्री व्यवसायको वृद्धिदरमा कमी आएको छ। विगतमा वार्षिक १०-१५ प्रतिशतले बढ्ने गरेको पोल्ट्रीको वृद्धिदर हाल स्थिर रहेको उनको भनाइ थियो। यसको मुख्य कारण युवा जनशक्तिको विदेश पलायन हुनु र निर्माणलगायतका क्षेत्रमा कामको कमी हुने उनको तर्क छ।
पछिल्लो पाँच वर्षमा ३ देखि ५ लाख टन मकै आयात भएको भन्सार विभागको तथ्यांक छ। स्वदेशी उत्पादन र आयातित मकै हेर्ने हो भने वार्षिक ३५ लाख मकै नेपालमा खपत भएको देखिन्छ।
नेपालको प्रमुख बालीमध्येको मकै अधिकांश हिस्सामा करिब ८० प्रतिशत मानिसको खानाभन्दा पशुपन्छीको दानामा खपत हुने गरेको दाबी गरिन्छ। कृषि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अर्न्तगतका मकैबाली अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिक सुख बहादुर गुरुङका अनुसारका घरेलु उत्पादनको ठूलो हिस्सा प्रशोधित वा अप्रशोधित दुवै रूपमा गाई, भैँसी, बङ्गुर र मुख्य गरी पोल्ट्री (कुखुरा) क्षेत्रमा प्रयोग हुने गरेको छ।
‘तराईका चितवन, विराटनगर र सुदूरपश्चिम क्षेत्रका दाना फ्याक्ट्रीहरूले ठूलो मात्रामा मकै खपत गर्छन्,’ उनले भने, ‘दाना उद्योगीहरूले आयातित मकैमा बढी जोड दिएको, घरेलु उत्पादन सीधै किसानकै घरबाट पशु आहारमा र केही बचेका मकै ब्रोकरमार्फत दाना कम्पनीमा जाने गरेको भेटिन्छ।’

नेपालको मध्य पहाडी तथा ग्रामीण भेगमा मकै उत्पादन हुने गरेको छ। किसानले उत्पादन गरेको मकैको ७० देखि ७५ प्रतिशत प्रशोधन नगरी सीधै गाईवस्तु, बङ्गुर र बाख्रालाई खुवाउने गरेको सर्वेक्षणले देखाएको कृषि वैज्ञानिक गुरुङले बताए। यसको अलवा मानिसको लागि कुल खपतको २० देखि २५ प्रतिशत मात्रै प्रयोग हुने गरेको उनको अनुमान छ।
नेपालमा घट्दो क्षेत्रफलमा मकै उत्पादन बढ्दो छ। नेपालमा पाँच वर्षको उत्पादन हेर्ने हो भने क्षेत्रफल घट्दो र उत्पादन बढ्दो कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।
‘यो पनि भुटेर, ढिँडो बनाएर वा रक्सी बनाउनमा बढी प्रयोग हुन्छ। प्रतिव्यक्ति वार्षिक औसत उपभोग १० देखि १५ केजीको हाराहारीमा प्रयोग हुने गरेको छ। नेपालमा वार्षिक ३ देखि ६ लाख मेट्रिक टन हाराहारीमा मकै आयात हुने गरेको छ। जुन मुख्यत दाना उद्योगमै प्रयोग हुने गर्छ।
घट्दो क्षेत्रफलमा मकै उत्पादन बढ्दो
नेपालमा घट्दो क्षेत्रफलमा मकै उत्पादन बढ्दो छ। नेपालमा पाँच वर्षको उत्पादन हेर्ने हो भने क्षेत्रफल घट्दो र उत्पादन बढ्दो कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। आर्थिक वर्ष २०७६/७७ मा ९ लाख ५७ हजार हेक्टर क्षेफलमा खेती भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।
पाँच वर्षमा (आर्थिक वर्ष २०८०/८१) ४१ हजार हेक्टर क्षेत्रफल घटेर ९ लाख १६ हजार हेक्टरमा मकै खेती सीमित छ। उत्पादन भने वृद्धि भएको छ। वर्ष २०७६/७७ मा २८ लाख ३५ हजार टन उत्पादन भएको मकै गत वर्ष २०८०/८१ मा ३१ लाख ९३ हजार टन मकै उत्पादन भएको छ। यो भनेको पाँच वर्षको तुलनामा ३ लाख ५८ हजार टनले बढी हो।

मकै खरिदमा बाहिरिँदै ठूलो आर्थिक हिस्सा
मकै आयातका लागि ठूलो आर्थिक हिस्सा बाहिरिने गरेको सरकारी तथ्यांकले देखाउँछ। चालू आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा चार अर्ब रुपैयाँको मकै भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। सो रकम बराबरमा ८८ हजार टन मकै आयात भएको छ। यो मकै आयात हुँदा २२ करोड ९० लाख रुपैयाँ राज्यले राजस्व संकलन गरेको छ।
पछिल्लो ६ वर्षमा भन्सार विभागको तथ्यांकले १५ अर्बदेखि २० अर्ब रुपैयाँ बराबरको ३ लाख टनदेखि ६ लाख टन मकै आयात भएको देखाएको छ।
