काठमाडौं। राष्ट्र बैंकले एकैपटक करिब डेढ सय कर्मचारीका लागि बढुवा आवेदन मागेको छ। बैंकले पुस १० भित्र आवेदन दिने गरी बढुवा प्रक्रिया अघि बढाएको हो।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतिस्पर्धा दुवै विधिबाट यसपटक ठूलो संख्यामा कर्मचारी पदोन्नति हुनेछन्।
विभागले बढुवाका सम्भावित उम्मेदवारलाई पुस १० भित्र अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ। आवेदन राष्ट्र बैंकको वेबसाइटबाट भर्न सकिनेछ। आन्तरिक प्रतिस्पर्धाअन्तर्गतको लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने सूचनामा उल्लेख छ।
विवरणअनुसार प्रशासनतर्फ निर्देशकमा ८ जना, उपनिर्देशकमा २० जना, सहायक निर्देशकमा १३ जना, प्रधान सहायकमा ४५ जना र सहायकमा ४ जना कार्यक्षमता मूल्यांकनमार्फत बढुवा हुनेछन्। प्राविधिकतर्फ १ जना चालक सुपरभाइजर र १ जना सहायक निर्देशक (प्रेस) को बढुवा हुनेछ।
आन्तरिक प्रतिस्पर्धाबाट निर्देशकमा ४ जना, उपनिर्देशकमा ८ जना, सहायक निर्देशकमा १२ जना, प्रधान सहायकमा ३१ जना र सहायकमा ३ जनाको बढुवा हुनेछ।
राष्ट्र बैंकले आज खुला प्रतिस्पर्धाबाट ७६ नयाँ कर्मचारी माग गर्दै रिक्त पदपूर्ति प्रक्रिया सुरु गरेको छ। राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।