काठमाडौं। नेपाल राष्ट्र बैंकले नियमन र सुपरिवेक्षण उल्लंघन गर्ने आधा दर्जन बढी लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ। केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको सुपरीवेक्षणका क्रममा संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लापर्वाही र बदमासी फेला परेपछि उनीहरूलाई सचेत गराउनुका साथै संस्थालाई शीघ्र सुधारात्मक कारबाही दायरामा ल्याएको हो।
प्रतिवेदनअनुसार विशेषगरी संस्थाका सञ्चालकले नीति–नियमलाई मिचेर आफ्नो स्वार्थ अनुकूल निर्णय गर्ने र सीईओहरूले वित्तीय विवरणमा समेत चलखेल गर्ने गरेको पाइएको छ। राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार ५ वटा संस्थालाई पुँजीकोष पर्याप्त नभएको भन्दै शीघ्र सुधारात्मक कारवाही गरिएको छ भने अन्य संस्थाका सञ्चालक समिति र सीईओलाई गम्भीर सचेत गराइएको छ।
पुँजीकोष संकटमा आधा दर्जन लघुवित्त
राष्ट्र बैंकका अनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने आधा दर्जन लघुवित्त संस्थाहरू अहिले राष्ट्र बैंकको प्रत्यक्ष निगरानी र कारबाहीमा परेका छन्। आरम्भ चौतारी लघुवित्तले २०८० असारमा न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको छ।
यसैगरी गणपति लघुवित्तले ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तले ६.२० प्रतिशत मात्र पुँजीकोष अनुपात कायम गरेका छन्। यी सबै संस्थाले नियामकीय मापदण्डअनुसारको पुँजी कायम गर्न नसक्दा राष्ट्र बैंकले उनीहरूलाई थप जोखिमपूर्ण काम नगर्न र तत्काल सुधारका कदम चाल्न निर्देशन दिँदै शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अगाडि बढाएको छ।
सञ्चालकहरूको बदमासीको चंगुल
सुपरीवेक्षणका क्रममा लघुवित्त संस्थाहरू कसरी सञ्चालकको चंगुलमा परेका छन् भन्ने तथ्य पनि बाहिर आएको छ। धौलागिरि लघुवित्तको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावलीको मर्म विपरीत काम गरेको पाइएको छ। उक्त संस्थाले नायव कार्यकारी अधिकृतलाई कुनै स्पष्ट आधार र कारणबिनै संस्थामा बहाल नरहेको अवधिको समेत तलबभत्ता र रकम नियम विपरीत प्रदान गरेको भेटिएको छ।
यसरी संस्थाको रकममा लुट मच्चाएको भन्दै राष्ट्र बैंकले अध्यक्ष सृजना थापासहित सञ्चालक सुमनप्रसाद श्रेष्ठ, जीवन आचार्य, शालिकराम शर्मा, चेतप्रसाद सापकोटा, गणेश पौडेल र रेशमलाल सापकोटालाई राष्ट्र बैंक ऐनबमोजिम सचेत गराइएको छ।
त्यस्तै, सिवाईसी नेपाल लघुवित्त सञ्चालक समितिले पनि आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ। संस्थाको आर्थिक प्रशासन विनियमावलीमा भएको व्यवस्था र तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरी सवारीसाधन खरिद गरेको भन्दै अध्यक्ष पद्मनाथ शर्मासहित सञ्चालक प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवनप्रसाद पौडेल, सुमन घर्ती क्षेत्री र मुनादेवी खनाललाई कारबाहीस्वरूप सचेत गराइएको छ।
सीईओको लेखांकनमा बदमासी
संस्थाको नेतृत्व सम्हाल्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत वित्तीय अनुशासनहीनतामा संलग्न भएको पाइएको छ। नेरुडे मिर्मिरे लघुवित्तका सीईओ भोजराज बस्याललाई राष्ट्र बैंकले सचेत गराएको छ। संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता गरेको ८१ अर्ब ५५ करोड रुपैयाँ कुन–कुन ऋणीको हो भन्ने यकिन नगरी राष्ट्र बैंकको निर्देशन विपरीत आम्दानीमा देखाएको पाइएको छ।
नाफा बढी देखाउन वा संस्थाको वास्तविक अवस्था लुकाउन यसरी विवरणमा चलखेल गरिएको भन्दै सीईओ बस्याललाई अब उप्रान्त यस्तो कार्य नगर्न कडा निर्देशन दिइएको छ। साथै, लघुवित्त क्षेत्रमा देखिएका यी विकृतिले संस्थागत सुशासनको अवस्था कति नाजुक छ भन्ने देखाउँछ।
सञ्चालकले आफू अनुकूल कर्मचारी नियुक्त गर्ने, नियम विपरीत सेवा सुविधा दिने र सीईओहरूले लेखांकनका नियमलाई मिचेर विवरण सार्वजनिक गर्ने प्रवृत्तिले सर्वसाधारणको निक्षेप र लगानी जोखिममा परेको देखिन्छ। राष्ट्र बैंकले यस्ता गतिविधिमा संलग्न पदाधिकारीलाई ऐनको दफा १०० बमोजिम कारवाही गरी भविष्यमा यस्ता गल्ती नदोहोर्याउन सचेत गराएको छ।