काठमाडौं। २० वाणिज्य बैंकमध्ये हालसम्म ११ वटाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई लाभांश घोषणा गरेको विवरण नेप्सेलाई पठाएका छन्।
लाभांश घोषणा गरेका ११ बैंकमध्ये एभरेष्टले सर्वाधिक २० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ भने सबैभन्दा कम घोषणा गर्नेमा सानिमा र सिटिजन्स रहेका छन्।
लाभांश घोषणा गरेका बैंकहरुबाट प्रकाशित सूचनाअनुसार स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, सिद्धार्थ, सिटिजन्स, सानिमा, एभरेष्ट, माछापुच्छर्े, एनएमबी, लक्ष्मी सनराइज, नेपाल एसबिआई र कृषि विकास बैंकले २०८१/८२ का लागि लाभांश घोषणा गरेका हुन्।
कुन बैंकको कति लाभांश
स्ट्यान्डर्ड चार्टर्ड
बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ। बैंकले यसका लागि आगामी मंसिर २९ गते साधारणसभा बोलाएको छ। लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ ।
सिटिजन्स बैंक
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय मंसिर १३ को साधारणसभाबाट गरिसकेको छ।
माछापुच्छ्रे बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित भइसकेको छ। बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले साधारणसभासमेत सकिइसकेको छ।
सिद्धार्थ बैंक
बैंकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण प्रस्ताव गरेको छ।
५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। बैंकले लाभांश वितरण प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको सूचनामा उल्लेख छ।
ग्लोबल आइएमई बैंक
बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि करसहित प्रस्तावित चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश सेयरधनीलाई वितरण गर्नेछ। लाभांश वितरण प्रस्ताव बैंकले साधारणसभाबाट पारित गरिसकेको छ।
सानिमा बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश वितरण गर्नेछ। बैंकले सेयरधनीलाई बोनस सेयर नदिई नगद मात्रै दिने निर्णय गरेको हो। बैंकले लाभांश प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ।
एभरेष्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकले सेयरधनीलाई वितरण गरिने प्रस्तावित लाभांश साधारणसभाबाट पारित गरिसकेको छ।
लक्ष्मी सनराइज बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १० दशलमव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरिने बताएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्नेछ। कात्तिक ३० को बैंक सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
कृषि विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसमध्ये ३ दशमलव २५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ९ दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंसिर २९ गते सभा गर्दैछ ।
नेपाल एसबिआई बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन । मंसिर ८ मा बसेको बैंक सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो।
एनएमबी बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसमध्ये बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन । मंसिर ५ मा बसेको बैंक सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।