काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा पराजित भएसँगै सुदूरपश्चिम रोयल्स दोस्रो पटक पनि उपविजेता बनेको छ। यसअघि एनपीएलको पहिलो सिजनमा जनकपुर बोल्टससँग पराजित भएको सुदूरपश्चिम दोस्रो पटक लुम्बिनी लायन्ससँग पराजित भएको हो।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले लुम्बिनीलाई जम्मा ८६ रनको लक्ष्य दिएको थियो। सुदूरपश्चिम १९ ओभर एक बलमा ८५ रन बनाउँदै अलआउट भएपछि लुम्बिनीले झिनो लक्ष्य पाएको हो।
सुदूरपश्चिमलाई सस्तोमै समेट्नका लागि लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए। उनले ११औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिएका हुन्। यस्तै, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३-३ र तिलक भण्डारीले एक विकेट लिएका थिए।
ब्याटिङतर्फ सुदूरपश्चिममा ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा विनोद भण्डारी, दीपक बोहरा र पुनित महरा बोल्ड आउट भए। आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रन मात्रै बनाउन सके।
झिनो लक्ष्य पाएको लुम्बिनीले चार विकेटको क्षतिमा नौ ओभरमा लक्ष्य पूरा गरेको थियो। लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गर्दै २७ रन जोडेको थिए। उनले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रन बनाए।
डार्शी सर्टले १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए। यस्तै, हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराएका थिए।
पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहितको नेतृत्वको लुम्बिनी यस पटक पनि लिग चरणबाट बाहिरिने अवस्थामा पुगेको थियो। पछिल्लो खेलहरूमा लगातार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको हो। लिग चरणको खेलमा सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ७ विकेटको जित हात पारेको थियो।
उपाधि रक्षा गरेसँगै लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख पुरस्कार पाएको छ। यस्तै, तेस्रो हुने टोली विराटनगर किंग्सले २५ लाख र चौथो हुने काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँ पाएको छ।