काठमाडौं। नेपाल राष्ट्र बैंकले संस्थापक सेयर खरिदबिक्री सम्बन्धी व्यवस्थामा कडाइ गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशाेधन तथा परिमर्जन गर्दै संस्थापक सेयर बिक्रीमा २ प्रतिशतको ‘छुट’ हटाइ अब पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो।
पुरानो व्यवस्था अनुसार, इजाजतपत्र प्राप्त संस्थाको चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयरधारण गरेका संस्थापक सेयरधनीले आफ्नो संस्थापक सेयर विद्यमान संस्थापक वा अन्य व्यक्ति/संस्थालाई बिक्री गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिई रहनु पर्दैनथ्यो। यो २ प्रतिशतको सिमाभित्र रहेका साना संस्थापकलाई सेयर बिक्रीमा एक प्रकारको सहजता प्रदान गरिएको थियो।
राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन (इ.प्रा. निर्देशन नं. १० को बुँदा नं. १५ को संशोधन) ले उक्त छुटको प्रावधानलाई हटाएको छ। नयाँ व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त संस्थाको संस्थापक सेयरधनीको नाममा रहेको सबै संस्थापक सेयर विद्यमान संस्थापकबीच वा अन्य व्यक्ति वा संस्थालाई खरिदबिक्री गर्दा अब अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ।
चुक्ता पुँजीको दुई प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीलाई यसअघि दिइएको ‘स्वीकृति लिई रहनु नपर्ने’ भन्ने छुटको सुविधा खारेज गरिएको छ। यसको अर्थ अब थोरै सेयर भएका संस्थापकले पनि राष्ट्र बैंकको स्वीकृति बिना सेयर बेच्न पाउने छैनन्।
नयाँ संस्थापक सेयर खरिद गर्ने व्यक्ति वा संस्थाले राष्ट्र बैंकले तोकेको मापदण्ड र ‘फिट एन्ड प्रोपर टेस्ट’को व्यवस्थालाई परिपालना गरेको हुनुपर्ने छ। २ प्रतिशतभन्दा बढी सेयरधारण गरेका संस्थापक सेयरधनीलाई भने यो सुविधा उपयोग गर्नका लागि आफ्नो संस्थापक सेयर खण्डीकृत गरी २ प्रतिशत वा सोभन्दा कम बनाएर बिक्री गर्न कडाइका साथ रोक लगाइएको छ।
संस्थापक सेयरको स्वामित्व परिवर्तनलाई थप नियमनकारी दायराभित्र ल्याएको छ। विशेषगरी, साना संस्थापक सेयरधनीलाई प्राप्त सुविधामा कटौती गरिएको छ।