काठमाडौं। नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई आज एक समारोहकाबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएर त्यहाँबाट आगामी पुस २ गते कतार यएरवेजको चार्टर फ्लाइटबाट सीधैँ लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए।
हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो। आगामी पुस २ गते बिहान गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ। नेपालले अन्य विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो।
विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले हात्ती कतार पठाउने प्रक्रिया लगभग पूरा भएको जानकारी दिए। उनका अनुसार पठाउन लागेकामध्ये खगेन्द्रप्रसाद भन्ने भाले हात्ती छ वर्षको र रुद्रकली भन्ने पोथी हात्ती सात वर्षका छन्। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिक केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यही हुर्काइएका हुन्।
विं.सं. २०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो।
नेपालले साइटिसलगायतका प्रक्रिया पूरा गरी २०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहार स्वरूप प्रदान गर्ने निर्णय गरेको थियो।
कतारमा हात्ती हुर्काउनका लागि हात्तीसँगै नेपालले एक जना भेटनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाउन लागेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताए। उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्कहुनेछ।
कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनबारे नेपालबाट प्राविधिक टोली यसअघि पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिए।