काठमाडौं। जेनजी आन्दोलनपछि निजी क्षेत्रमा छाएको निराशाबीच चारतारे होटल मोक्सी सञ्चालनमा आउने भएको छ। आन्दोलनका कारण प्रभावित बनेको पर्यटन क्षेत्रले विस्तारै लय समाउन थालेसँगै मंसिर २६ गतेबाट पूर्ण रुपमा होटल सञ्चालनमा आउने भएको हो।
अमेरिकी चेन होटल म्यारियटअन्तर्गतको चारतारे होटल मोक्सीका सञ्चालक शशीकान्त अग्रवालले पर्यटन क्षेत्र विस्तारै रिभाइवको चरणमा रहेकाले होटल सञ्चालनमा ल्याउन लागिएको बताए।
गत दशैंअघि सञ्चालनका लागि तयारी भइसकेको होटल गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण केही समयका लागि सञ्चालन होल्ड गरिएको थियो।
विश्व बजारमा युवा वर्गमा लोकप्रिय बनेको चारतारे होटल मोक्सी हिमालयन हस्पिटालिटी एण्ड होटलले नेपाल भित्र्याएको हो। सो हस्पिटालिटीले पाँचतारे होटल म्यारियट र चारतारे होटल फेयरफिल्ड सञ्चालनमा रहेको छ। योसँगै हिमालयन हस्पिटालिटीको तीनवटा तारे होटल सञ्चालनमा हुनेछ।
कूल दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटल म्यारियटकै ब्राण्ड मोक्सी विशेष गरी युवा वर्ग तथा विदेशी पाहुँना लक्षित हो। यो होटलको व्यवस्थापन म्यारियटले गर्ने छ।
यस्तो छ मोक्सीको विषेशता
फेन्सी तथा रमाइलो चाहने युवा वर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्ने बित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गका लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने छ।
होटलमा रहेका अधिकांश कोठाहरु डिलक्स रहेको छ। यस्तै, ग्राहकलाई फरक फरक स्वाद चखाउनका लागि तीन वटा रेष्टुरेण्ट सञ्चालन हुनेछ। १० औँ तलामा रहेको रेष्टुरेन्टबाट काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्दै मदिराको स्वादमा रमाउन पाउने सञ्चालकको दाबी छ।
मोक्सी होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित छ। होटलमा १०१ वटा कोठाहरु रहेको छ। ती कोठाहरुमा स्मार्ट र स्टाइलिस बेडरुम रहेको छ।
विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकाले परम्परागत होटलभन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ। होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बारलगायतको सेवाहरू समावेश गरिने छ। त्यस्तै, फिटनेस सेन्टर, आउटडोर पुल रहने छन्।
एक रातको २० हजारसम्मको हुनेछ कोठा
होटलमा एक रातको न्यूनतम १० देखि २० हजार रुपैयाँसम्मको कोठाहरु रहने छ। सुइट रुमको मूल्य २० हजारसम्म निर्धारण गरिएको जनाएको छ। मागको आधारमा मूल्य तलमाथि भइरहने जनाएको छ।