कास्की। पोखरा महानगरले आज ६७औं स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको हो।
पोखराले यसअघि फागुन २७ लाई स्थापना दिवसका रुपमा मनाएको थियो। महानगर प्रमुख धनराज आचार्यले अभिलेख हेर्दा २०१६ पुस २ गते पाँच हजार जनसंख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको बताए। यसरी स्थापनाको ३६४औं दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो।
महानगरले स्थापना दिवसका अवसरमा भाषा साहित्य, कला (संगीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वमध्येबाट ९ जनालाई पोखरेली नवरत्नबाट सम्मान गर्ने जनाएको छ।
नवरत्नहरुलाई जनही नगद २ लाख दुई हजार २०२ र ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले बताए। उनका अनुसार आज बिहान पोखराको चिप्लेढुंगाबाट बृहत सांस्कृतिक झाँकी ¥यालीसहितको प्रभातफेरी पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोह हुनेछ।
मूल समारोहमा महानगरमा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ। यसैगरी महानगरपालिकाका ३३ वटै वडामध्येबाट सरसफाइमा उत्कृष्ट तीन वटा वडा, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ।
उमेर ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ। मूल समारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधि, मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख, छिमेकी पालिकाका प्रमुख, पोखरा महानगरका पूर्वपदाधिकारी, पूर्वप्रशासकीय अधिकृतलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिृकत मुक्तिराम अर्यालले जानकारी दिए।
स्थापना दिवसका दिनमा महानगर तथा मातहतका कार्यालयको नियमित सेवा प्रवाह बन्द रहने जनाएको छ। २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएकामा त्यसपछि २०५२ माघ १८ मा उपमहानगरपालिका घोषणा भएको थियो।
२०७३ फागुन २७ गते पोखरा वरपरका साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो। यसैगरी २०७५ साउन २३ गतेको मन्त्रिपरिषद् निर्णयले पोखरा महानगरपालिका नाम कायम गरिएको थियो। सो निर्णयको सूचना २०७५ भदौ २५ गते राजपत्रमा प्रकाशित भएपछि औपचारिक रुपमा पोखरा महानगरपालिका कार्यान्वयनमा आएको हो।–रासस