काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालयलाई आपसमा गाभ्ने भएको छ। नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको परिपत्र बमोजिम एउटै स्थानमा रहेका शाखालाई बैंकले गाभ्न लागेको हो।
बैंकले जारी गरेको सार्वजनिक सूचनाअनुसार आगामी २०८२ चैत ३ गतेदेखि यी शाखा गाभिएर एकीकृत बैंकिङ कारोबार सुरु हुनेछ। बैंकका अनुसार देहायका शाखाहरू गाभिने भएका छन्।
१, लाजिम्पाट शाखा: नक्साल शाखा (नारायणचौर)मा गाभिने।
२, खिचापोखरी शाखा: न्यूरोड शाखामा गाभिने।
३, कुमारीपाटी शाखा: लगनखेल शाखामा गाभिने।
४, जावलाखेल (कोड ०१६) शाखा: जावलाखेल (कोड ०५५) शाखामा गाभिने।
५, नयाँ बानेश्वर (कोड ०९४) शाखा: नयाँ बानेश्वर (कोड ०२८) शाखामा गाभिने।
६, टेकु शाखा: त्रिपुरेश्वर शाखामा गाभिने।
७, चाबहिल (कोड १६५) शाखा: चावहिल (कोड ०६६) शाखामा गाभिने।
८, कलंकी (कोड १५२) शाखा: कलंकी (कोड २५२) शाखामा गाभिने।
बैंकका अनुसार यी शाखाबीचको दूरी निकै कम (१०० मिटरदेखि ४०० मिटरको आसपास) रहेकाले सञ्चालन खर्च कम गर्ने र सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय लिइएको हो।
गाभिने शाखा कार्यालयबाट बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले अब सम्बन्धित गाभिएका (गाभ्ने) शाखा कार्यालयबाट आफ्नो साविक बमोजिमको कारोबार सुरु गर्न सक्ने बैंकले जनाएको छ। यस प्रक्रियाबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमासमेत मागेको छ।
पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाले खर्च कटौती र व्यावसायिक दक्षता वृद्धिका लागि एकै क्षेत्रमा रहेका आफ्ना शाखाहरूलाई गाभ्ने क्रमलाई तीव्रता दिएका छन्।