काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र शाह बालेनबीच पुस ७ गते सोमबार राती ८ बजेदेखि मंगलबार १ बजे मध्यरातीसम्म पुराना पार्टी शेरबहादुर देउवा र केपी शर्मा ओलीहरुको विकल्पका लागि आगामी राजनीतिक यात्रा सँगै दौडाउने गरी सहमति भएका समाचार थुप्रै प्रचारित÷प्रसारित भए।
तर, मध्यरातसम्म कुराकानी गरेर एउटै गाडीबाट बाहिरिएका मेयर बालेन र रविबीच कुरो नमिलेको देखिएको छ।
सहकारी ठगी प्रकरणमा उच्च अदालत सुर्खेतको बुटवल इजलासबाट धरौटीमा रिहा भएका रवि र मेयर बालेनबीच आइतबारदेखि आगामी निर्वाचन, सहकार्य, मुलुकको पछिल्लो अवस्थालगायतमा आधारित छलफल चल्दै आए पनि पदमा ‘सेटलमेन्ट’ नमिल्दा दुवै जना छुट्टाछुट्टै हुने स्थिति सिर्जना भएको बताइन्छ।
आइतबार भेट भएका दुई नेताले सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाह निवासमा करिब पाँच घन्टा लामो छलफल गरे पनि वार्तामा कुरो नमिलेको देखिएको हो।
छलफलको विस्तृत विवरण नखुलाइए पनि पछिल्लो राजनीतिक अवस्था र फागुन २१ को निर्वाचन केन्द्रित रहेको बुझिएको छ। सोमबार साँझ ८ बजेदेखि सुरु भएर राती अबेर १ बजेसम्म चलेको छलफलमा सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल र मेयर बालेनसहित वार्ता समिति संयोजक कुमार बेन सहभागी थिए।
दुई नेताबीचको भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा छलफल भएको थियो। तर, कुरो नमिलेपछि मेयर बालेनले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेर निर्वाचनमा जाने तयारी थालेका छन्। रविसँग करिब ८ घन्टा राजनीतिक सहकार्यका विषयमा छलफल गरे पनि अन्ततः सहमति हुन नसक्दा आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेर अघि बढ्ने गरी गृहकार्य थालेको बुझिएको छ।
यसका लागि बालेनले बुधबार मध्यरातसम्म विभिन्न क्षेत्रका सक्रिय तथा चर्चित व्यक्तिसँग छलफल गर्दै अलगै पार्टी लिएर निर्वाचनमा जान सक्रियता बढाएका हुन्। उनले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र चुनाव चिन्ह लौरो नै प्रयोग गरेर निर्वाचनमा जान आफू निकटस्थसँग छलफल गरेका थिए।
डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्वविवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतसँग बालेनले भलाकुसारी गरेका थिए।
बालेनले प्रत्यक्ष चुनाव लड्दा सार्वजनिक रूपमा छवि राम्रा भएका मान्छे चाहिने बताउँदै सोहीअनुसार सहभागी बोलाइएको उनी निकट स्रोतले जनाएको छ।