काठमाडौं। निजी क्षेत्रको व्यवसायिक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अहिले चुनावी माहोल सुरु भएको छ। नयाँ नेतृत्व चयनसहितको ६०औँ वार्षिक साधारण सभाको मिति नजिकिएसँगै उम्मेदवारहरुले आफ्नो प्यानलनै बनाएर चुनावी तयारी थालेका हुन्।
आगामी चैत २८ र २९ गते हुने वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्य समितिको निर्वाचित हुने छ। संशोधित विधानअनुसार यस पटकको साधारण सभामा वरिष्ठ उपाध्यक्षसहितको निर्वाचन हुने र अर्को साधारण सभाबाट अध्यक्षसमेतको निर्वाचन हुनेछ।
यसका लागि अहिले वरिष्ठ उपाध्यक्षका आकांक्षीले आफ्ना प्यानल बनाएर चुनावी प्रचार सुरु गरिरहेको हो। वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष रामचन्द्र संघईको समूहले प्यानल तयार पारेका छन्। आगामी चैतको पहिलो साता प्यानल घोषणा गर्ने गरी संघाई समूहले आफ्नो टीमलाई अन्तिम रुप दिइरहेका छन्।
संघाईको टीमबाट एसोसिएट उपाध्यक्षका लागि प्रवलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे र जिल्ला नगर उपाध्यक्षका लागि कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचनमा होमिने निश्चित भएको छ। यस्तै संघई समूहले एसोसिएट, वस्तुगत र जिल्ला नगरमा पनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेको छ।
एसोसिएटको टीम
अम्बिका पौडेल, उज्वल श्रेष्ठ, मनोज पौडेल सुशिल थापा, ईश्वर जिसी, बाबुकाजी कार्की, जुना माथेमा, सुनिल नारायण श्रेष्ठ, कृष्णलाल महर्जन, शक्ति बेगानी, राजेश अग्रवाल, हेमन्त गोल्छा, रिसी अग्रवाललगायत छन्।
वस्तुगततर्फ टीम
संघई समूहबाट वस्तुगततर्फ पनि प्यानल तयार पारेर चुनावी मैदानमा होमिने तयारी गरेको छ। हालसम्म अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, बसन्त चन्द्र मरहट्टा, रघुनन्दन मारु, सुनिता न्हेम्हाफुकी, होमप्रसाद घिमिरे, विप्लव अधिकारी, धर्मराज सापकोटा, संघार्ष विष्ट, धनप्रसाद लामिछाने, राजेश भक्त श्रेष्ठ, सरस्वती राई, एवा बहादुर थापा र विश्वनाथ खनाल छन्।
जिल्ला तथा नगरतर्फ भने टीम निर्माणको अन्तिम कसरत भइरहेको जनाएको छ। जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार कृष्ण शर्माले वरिष्ठ उपाध्यक्षमा संघईको टीम बनाएर निर्वाचनमा होमिने गरी आवश्यक तयारी गरिरहेको जानकारी दिए। हाल जिल्ला भ्रमणमा रहेको जानकारी दिँदै चैतको १० गतेभित्रै टीम सार्वजनिक गर्ने उनको भनाइ छ।
कसरी हुन्छ वरिष्ठ उपाध्यक्षको निर्वाचन?
नयाँ विधानअनुसार यो पटकदेखि वरिष्ठ उपाध्यक्षको निर्वाचन हुनेछ। त्यसका लागि सुरुमा कार्य समितिको निर्वाचन हुने र निर्वाचित सदस्यहरुबाट वरिष्ठ उपाध्यक्षको निर्वाचन हुनेछ।
त्यसका लागि धेरैभन्दा धेरै सदस्यहरु आफ्नो पक्षको विजयी गराउनुपर्ने छ। यसअघि कोषाध्यक्षको निर्वाचन कार्य समिति सदस्यबाट हुने गरेको थियो।