काठमाडौं। आन्तरिक उडानमा नयाँ एयरलाइन्सको प्रवेश भएको छ। हाल तीन वटा एयरलाइन्सले मात्र आन्तरिक उडान गरिरहेको बेला २०८३ को दसैंदेखि नियमित उडान गर्ने गरी डाँफे एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडानको अनुमति (एनओसी) पाएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले डाँफे एयरलाइन्सले केही साताअघि एनओसी पाएको जानकारी दिए। एयरलाइन्स सञ्चालनको चौथोँ प्रक्रियालाई एनओसी भनिन्छ। योसँगै अब डाँफे एयरलाइन्सले जहाज खरिद गरेर प्रशिक्षण उडान गर्नुपर्ने हुन्छ।
डाँफे एयरलाइन्सका सञ्चालक अभिषेकमान श्रेष्ठले प्राधिकरणबाट एनओसी पाएसँगै नियमित उडानका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए। ‘प्राधिकरणले एनओसी दिएसँगै अब हामी जहाज ल्याएर डेमोस्ट्रेशनको काममा लाग्छौँ,’ सञ्चालक श्रेष्ठले भने, ‘आगामी दसैंभित्रमा नियमित उडान गर्ने गरी काम अगाडि बढाउँछौँ।’
०८३ को असारमा पहिलो जहाज ल्याएर डेमोस्ट्रेशन (प्रशिक्षण) उडान गर्ने र दसैंबाट नियमित उडानमा जाने गरी काम भइरहेको उनले बताए। तीन वटा एटिआर ७२‑६०० जहाजमार्फत उडान गर्ने सञ्चालक श्रेष्ठको भनाइ छ। यो जहाज नेपालका लागि नयाँ हुनेछ।
असारमा १ वटा र त्यसलगत्तै दुई वटा जहाज ल्याएर तीन वटा जहाजमार्फत आन्तरिक उडान गर्ने गरी आवश्यक कर्मचारीसमेत नियुक्त गरिसकेको जनाएको छ। यात्रुहरुलाई उच्च स्तरीय सुविधा र लक्जरी सेवा दिने उद्देश्यका साथ विश्व बजारमा प्रतिष्ठित एटिआर ७२‑ ६०० जहाज ल्याउने निर्णय कम्पनीले गरेको बताए।
एक दशकअघि बन्द भएको मकालु एयरको नाम परिवर्तन गरी नयाँ समूहले डाँफे एयरलाइन्स सञ्चालनमा ल्याएको हो।
पोखरा बेस रहेको एयरलाइनसले एटिआर जहाजमार्फत माउन्टेन फ्लाइटका साथै नेपालगन्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, जनकपुर, भैरहवा र तुम्लिङटारमा उडान गर्ने तयारी रहेको छ। पहिलो चरणमा धनगडीमा उडान नगर्ने र चौथो जहाज ल्याएपछि मात्र सो क्षेत्रमा उडान गर्ने उनले जानकारी दिए।
एक दशकअघि बन्द भएको मकालु एयरको नाम परिवर्तन गरी नयाँ समूहले डाँफे एयरलाइन्स सञ्चालनमा ल्याएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षअघि साविकको मकालु एयरको इजाजत पत्र अद्यावधिक गरी डाँफे एभिएसन कर्पोरेसनको नाममा २०८४ भदौ २९ गतेसम्म मान्य हुने गरी आन्तरिक वायुसेवा सञ्चालनको इजाजत पत्र दिएको थियो।
तीन वटा जहाजलाई करिब ४ अर्ब लगानी गर्ने
एक साथ तीन वटा जहाज सञ्चालन गर्न लागेको डाँफेले करिब ४ अर्ब लगानी गर्ने भएको छ। विश्व बजारमा प्रतिस्र्धात्मक रुपमा रहेको एटिआर ७२‑६०० जहाजका लागि करिब ४ अर्ब लगानी हुने जनाएको छ।
हालको बजार मूल्य अनुसार एउटा जहाजका लागि करिब ११ मिलियन डलर (नेपाली १ अर्ब ६४ करोड) भन्दा बढी लाग्छ।