काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सबैतिरबाट दबाबका सामनामा रहेको दावी गरेकी छिन्। राजनीतिक दल, मिडिया समेत विभिन्न पक्षले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गरिरहेको बताएकी उनले आफ्नो अवस्थालाई अचानो र पेन्डुलमसँग तुलना गरेकी छिन्।
बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले राजनीतिक वातावरणको विषय उठाएकी हुन्। "हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छ। मारले गाली गर्छ। अहिले छोड्, भोलि छोड् भन्छ," उनको भनाइ छ। प्रधानमन्त्रीका अनुसार, सरकारमा रहँदा र पद छोड्दा दुबै अवस्थामा आलोचना सहन गर्नुपर्छ। "छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्यौ भन्ने भाष्य आउँछ," उनले भनिन्।
कार्कीले जेन-जी समूहको विशेष नाम लिएर उक्त समूहले दिनदिनै सरकार छोड्न दबाब दिइरहेको बताएकी छिन्। उनका अनुसार, आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्ने दबाब निरन्तर आइरहेको छ। आफ्नो स्थिति वर्णन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, "हामी त पेन्डुलम जस्तो भयौँ। त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ।"
सरकारको काममा लाग्ने युवा पिढीको आशंका पनि उनले व्यक्त गरेकी छिन्। "निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा। कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ," उनले दिग्दारी व्यक्त गरिन्। प्रधानमन्त्रीले २५ देखि ३० विभिन्न जेन-जी समूह रहेको उल्लेख गर्दै भनिन्, "एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ।" यसले विभिन्न समूहले अलग-अलग माग राखेको इङ्गित गर्छ।अन्तमा, कार्कीले देशको आर्थिक र राजनीतिक स्थितिको कुरा गर्दै भनिन्, "मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ। बंगलादेश चाहिँ नहोस्।" यसै क्रममा, उनले आफूहरूको अनुभव पनि कथा शैलीमा लेख्न सुझाइन्, जसमा सरकार चलाउने जटिल परिस्थितिको चित्रण हुन सक्छ।