काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि किनाराकृत भएका शीर्ष पार्टीका त्रयनेता क्रमशः शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, सुरक्षालगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बालुवाटार पस्दै छन्। देउवा कांग्रेस सभापति, ओली एमाले अध्यक्ष र दाहाल नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष हुन्।
यीमध्ये ओलीले साता दिनअघि पार्टी महाधिवेशनका नाममा एमाले कब्जा गरेर अध्यक्ष चुनिएका छन् भने देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् तर राजनीति छाड्ने संकेत गरेका छैनन्। दाहाल पनि नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन्।
जेनजी आन्दाेलनपछि नेतृत्व छाड्न पार्टीभित्र र बाहिरबाट दबाब आए पनि तीनै शीर्ष नेता अहिले पनि नयाँ पुस्ताप्रति नकारात्मक रहेकाे संकेत देखाइरहेका छन्। सत्तामाेह अझै छाड्ने संकेत देखिन्न।
जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गर्दै बालुवाटारमा सैनिक हेलिकोप्टर ओरालेर मकवानपुरस्थित सुपारेटार ब्यारेक पुगेका तत्कालीन प्रधानमन्त्री ओली, जेनजी आन्दोलनकारीबाट बूढानीलकण्ठ निवासमै कुटाइ खाएपछि देश/विदेशमा उपचार गराएर हाल आराम गरिरहेका कांग्रेस सभापति देउवा र सैनिक सुरक्षा बसेर ज्यान जोगाएका दाहाललाई निर्वाचन, राजनीतिक वातावरणलगायत विषयमा घनिभूत छलफल गर्न कार्कीले बालुवाटार बोलाएकी हुन्।
प्रधानमन्त्री कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग आज छलफल गर्ने निश्चित भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार जानकारी दिएका थिए। छलफलमा निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले सहयोग माग्नेछिन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतलनिवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र दाहालसँग छलफल गरेकी थिइन्। निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेका थिए।
तीन दलका शीर्ष तेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका थिए । निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिँदै निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी लिइरहेकाे दाबी उनकाे थियाे।
सञ्चारमन्त्री खरेलले भने, ’निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ। तीन ठूला दलका शीर्ष नेताले भेटमा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ। त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन्। भेटमा सभापति देउवाले निर्वाचन प्राथमिकता हो पुनःस्थापना प्राथमिकता हैन भन्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैनन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाउनुभएको छ। सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भएको छ। भेटका क्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ।’
वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उनले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका थिए । यसअघि मन्त्री खरेलसहित कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरूसँग कुराकानी गरेका थिए।
पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका मन्त्री खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन्। सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरे पनि दलहरूले शान्ति सुरक्षालगायतमा प्रश्न उठाउँदै आएका छन्।
निर्वाचन हुने/नहुने शंका बढेसँगै प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग वातावरण बनाउन र अन्याेल नबढाउन आग्रह गर्ने बुझिएकाे छ। निर्वाचनबारे कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी सकारात्मक रहे पनि एमाले अझै संसद् पुनःस्थापनाकाे रटानमा छ।