काठमाडौं। चालू आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बिमा कम्पनीको व्यवसाय १३ प्रतिशतले बढेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले वृद्धि भएको हो।
निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्षको मंसिरसम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्। गत आवको सोही अवधिसम्म निर्जीवन बिमा कम्पनीले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए।
प्राधिकरणका अनुसार यो अवधिमा व्यवसाय वृद्धि गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा छ। सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको व्यवसायमा गत वर्षको तुलनामा २६ प्रतिशतले गिरावट आएको छ। यो अवधिमा सलिकोले सबैभन्दा धेरै २ अर्ब २१ करोड ९२ लाखको व्यवसाय गरेको छ।
शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड ५ लाख, हिमालयन एभरेष्टले २ अर्ब ७० लाख, सिद्धार्थ प्रिमियरले १ अर्ब ८६ करोड ५४ लाख बिमाशुल्क आर्जन गरेका छन्।
त्यसैगरी एनएलजीले १ अर्ब ५७ करोड ८२ लाख, नेकोले १ अर्ब ४३ करोड ४१ लाख, युनाइटेड अजोडले १ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड १४ लाख कुल बिमाशुल्क आर्जन गरेका छन्।
तथ्यांकअनुसार द ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड ७१ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड ७२ लाख, प्रभुले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र सबैभन्दा कम राष्ट्रिय बिमा कम्पनी (आरबीसीएल) ले ४९ करोड ३० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ।