काठमाडौं। सार्वजनिक कार्यक्रममा परम्परागत तामझाम र भीआईपी संस्कृतिको झल्को दिने देखावटी परम्परा तोड्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आफूलाई सादगी र अनुशासनको प्रतीकको रूपमा प्रस्तुत गरे। शनिबार सामाजिक सञ्जालमार्फत कार्यक्रम आयोजकका लागि आफ्ना स्पष्ट मापदण्ड सार्वजनिक गरे।
नेपालका औपचारिक कार्यक्रममा लामो स्वागत, खादा माला र फूलगुच्छा प्रचलित छन्। तर, अर्थमन्त्री खनालका लागि सार्वजनिक कार्यक्रम प्रदर्शनको स्थान होइन, जिम्मेवारी र सन्देश दिने माध्यम हो। प्रमुख अतिथि हुँदैन, खादा, माला, अबीर र फूलगुच्छको आवश्यकता छैन, बाहिर उभिएर स्वागत हुँदैन, आसन ग्रहणको परम्परा छैन।
समय मिलेको खण्डमा हलमा सुटुक्क प्रवेश गरी तोकिएको सामान्य सिटमा बस्छन्। बोल्नै परे पाँच मिनेटभन्दा बढी भाषण गर्दैनन्। 'समय मिले म खुसुक्क हलमा छिर्छु, तोकेको सिटमा बस्छु, बोल्न भनिए पाँच मिनेट मात्र बोल्छु। मायाको चिनो लिन्नँ, र दिन पाइन्न,' उनले भने।
अकस्मात् काम परेमा कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था आए पनि सोही दिन आयोजकलाई जानकारी गराइन्छ। यसले कार्यक्रम सञ्चालनलाई सहज बनाउँछ र समयको महत्वलाई प्राथमिकता दिन्छ।
अर्थमन्त्री खनालको यो शैलीले सार्वजनिक जीवनमा सादगी, अनुशासन र जिम्मेवारीको सन्देश दिएको छ। तामझामभन्दा काम र औपचारिकताभन्दा परिणामलाई महत्व दिनु सार्वजनिक कार्यक्रम संस्कृतिमा नयाँ बहस र सकारात्मक उदाहरण बनेको छ।