काठमाडौं। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीसहित तीन ठूला दलका शीर्ष नेताहरूबीचको बैठकले सकारात्मक सन्देश दिएको छ।
गत पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री कार्कीसहित तीन ठूला दलका शीर्ष नेताहरूसँग छलफल गरी सरकार र दलबीचको सम्बन्ध सुधार गरेका थिए।
यसबीच शनिबार प्रधानमन्त्री कार्कीले आह्वान गरेको बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा अोली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए।
बैठकमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन आग्रह गरेकी थिइन्। उनले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरेकी हुन्।
प्रधानमन्त्री कार्कीको भनाइ उदृत गर्दै सचिवालय सदस्यले भने, ‘यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ।’
प्रधानमन्त्रीको आग्रहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका शीर्ष नेताहरूले निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका थिए।
आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरी तयारी गरेको छ।
बैठकपछि कांग्रेस सभापति देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि तयार छ। एमाले पनि तयार छ। अरु दल पनि तयार छन्। सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्छ।’ यसअघि उनले आफूलाई भेट्न पुगेका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेललाई सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका थिए।
यस्तै, एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै सुरक्षाको वातावरण बनाउनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेकी थिइन्।
गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओली अपदस्थ भएका थिए। आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरी तयारी गरेको छ।