काठमाडौं। ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको ७ बुँदे सहमतिमा उनी सहभागी भने भएनन्।
पोखरामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्ने बताएका हुन्। उनले नयाँ र मेनस्ट्रिम राजनीतिक शक्तिहरू एक भएर जान आह्वान गरेका छन्। "सही नेतृत्वहरू र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। नभए कार्यगत एकता गरेर जानुपर्छ। नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जान आह्वान गर्छु," घिसिङले भने।
उनले नेपाली जनताको चाहनालाई बुझेर अघि बढ्नुपर्ने बताएका छन्। "नेपाली जनताले वैकल्पिक शक्ति एक होस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना छ। त्यो बुझेर अघि बढ्नुपर्नेछ," उनले थपे।
घिसिङले वैकल्पिक शक्ति एक बनाउने विषयमा शनिबार साँझसम्म पनि छलफल गरेका थिए। स्रोतका अनुसार, विभिन्न वैकल्पिक शक्तिका नेताहरूबीच एकताका लागि निरन्तर संवाद चलिरहेको थियो। तर, आइतबार झिसमिसेमै रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति भएको छ। यस सहमति अनुसार बालेन रास्वपामा प्रवेश गरी संसदीय दलको नेता र भावी प्रधानमन्त्री बन्ने तय भएको छ भने रवि लामिछाने पार्टीको सभापति रहने व्यवस्था छ।
तर, लगातार संवादमा रहेका घिसिङ भने उक्त सहमतिमा सहभागी भएनन्। उनले उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएका छन्। वैकल्पिक शक्तिको एकतामा आफ्नो पार्टीको भूमिका र सम्मानलाई यथास्थितिमा राखेर मात्र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
"उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति, सम्मान र स्वाभिमान छ। त्यसलाई यथास्थितिमा राखेर त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ," घिसिङले भने। उनले सहकार्य गरेरै अघि बढ्ने बताउँदै आगामी दिनमा यस विषयमा ठोस नतिजा आउने दाबी गरे। "सहकार्य गरेरै अघि बढ्ने हो। यसतर्फ धेरै कुरा भइरहेको छ। आगामी दिनमा धेरै रिजल्ट आउनेछ," उनले थपे।
राजनीतिक विश्लेषकहरूका अनुसार वैकल्पिक शक्तिका रूपमा उदय भएका दलहरूबीच एकताको प्रयास निरन्तर चलिरहे पनि नेतृत्व र पार्टीको संरचनालाई लिएर असहमति रहिरहेको छ। रवि र बालेनबीच सहमति भए पनि घिसिङ त्यसमा सहभागी नहुनुले वैकल्पिक शक्तिको एकताको प्रयास पूर्ण रूपमा सफल हुन नसकेको देखिन्छ।
उज्यालो नेपाल पार्टी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा स्थापित भएको हो। उनी हाल नेपाल सरकारमा ऊर्जा मन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा वैकल्पिक शक्तिहरू कसरी अघि बढ्ने भन्ने विषय राजनीतिमा चासोको केन्द्र बनेको छ।
घिसिङको अडानले वैकल्पिक शक्तिको एकता प्रयासमा नयाँ जटिलता थपिएको छ। उनले सम्मानजनक उपस्थितिको कुरा गर्दा आफ्नो पार्टीलाई रास्वपामा समाहित गर्ने होइन, बरु बराबरीको आधारमा गठबन्धन वा सहकार्य गर्न चाहेको संकेत गरेका छन्। यसले आगामी दिनहरूमा वैकल्पिक शक्तिको एकताको प्रयास कुन दिशामा जान्छ भन्ने विषयमा अझ चासो बढाएको छ।
राजनीतिक पर्यवेक्षकहरूका अनुसार वैकल्पिक शक्तिहरूबीच एकता हुन नसकेमा आगामी निर्वाचनमा भोट बाँडिने र परम्परागत दलहरूलाई फाइदा हुने सम्भावना रहेको छ। त्यसैले वैकल्पिक शक्तिका नेताहरूबीच निरन्तर संवाद र समझदारी आवश्यक रहेको उनीहरूको भनाइ छ।