काठमाडौं। नेपाल बिमा प्राधिकरणले १० वटा जीवन बिमा कम्पनी, ६ वटा निर्जीवन बिमा र ३ लघु बिमा कम्पनी गरी कूल १९ वटा बिमा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ।
बिमा ऐन, २०७९ मा बिमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्थाबमोजिम बिमकबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो।
प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बिमा कम्पनीहरूमध्ये जीवन बिमातर्फ सिटिजन लाइफ इस्योरेन्स, नेपाल लाइफ इस्योरेन्स, आईएमई लाइफ इस्योरेन्स, सानिमा रिलायन्स लाइफ इस्योरेन्स, नेशनल लाइफ इस्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स, सन नेपाल लाइफ इस्योरेन्स, रिलायवल नेपाल लाइफ इस्योरेन्स, सूर्यज्योति लाइफ इस्योरेन्स र एलआईसी (नेपाल) लिमिटेड रहेका छन्।
यसैगरी, निर्जीवन बिमातर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ।
यस्तै, लघुबिमातर्फ गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बिमा कम्पनी १४ वटा, निर्जीवन बिमा कम्पनी १४ वटा, लघु बिमा कम्पनी ७ वटा र पुनर्बिमा कम्पनी दुई वटा गरी जम्मा ३७ वटा बिमा कम्पनीहरू संचालनमा छन्।