सुदूरपश्चिम। केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली र कञ्चनपुरमा घाम झुल्किन पाएको छैन।
चिसोका कारण जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्न दाउराको समस्या भएको छ। चिसो बढेपछि धनगढी उपमहानगर, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा धनगढी बजारका कतिपय चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ। शीतलहरले मजदुर, विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पुगेको छ।
कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार शीतलहरसँगै धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ। चिसो बढ्दै जाँदा आज धनगढीको अधिकतम तापक्रम १३ दशमलव तीन डिग्री सेल्सियस र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा पुगेको छ।
उनले भने, 'अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडो बढेको हो, अझै केही दिन शीतलहर कायम रहने पूर्वाअनुमान छ।'
बर्सेनि तराईका जिल्लामा देखिने शीतलहरको समस्याले जनजीवन नराम्रोसँग प्रभावित हुने गरेको छ। पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ। शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानले बताएका छन्।
डढुवा रोगको सङ्क्रमणबाट बालीलाई जोगाउन किसानले ढुसी नाशक विषादी छर्किन थालेका छन्। यस्तो विषादी प्रत्येक सात/आठ दिनको फरकमा छर्किन सकेमा बाली जोगाउन सकिने धनगढी १३ का किसान रामदिन राना बताउँछन्।
निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुन गई आलु, गोल भेँडालगायतको बोटमा डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ।