काठमाडौं। नेपाल बैंकर्स संघ (एनबिए)का अध्यक्ष सन्तोष कोइरालाले ७६ खर्ब निक्षेपको सुरक्षा र बैंकका ५० हजार कर्मचारीको आत्मसम्मानमा कुनै पनि बहानामा सम्झौता हुन नसक्ने प्रष्ट पारेका छन्। आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा अध्यक्ष कोइरालाले सो बताएका हुन्।
पछिल्लो समय कठिन परिस्थितिबाट गुज्रिरहेको बताउँदै कोइरालाले कर्मचारीमाथि हुने भौतिक आक्रमण र राजनीतिक स्वार्थका लागि गरिने दुव्र्यवहार प्रति आपत्ति जनाएका छन्। कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेका धरपकड, धम्की र अपमानजनक कार्यहरू तत्काल रोक्न चेतावनी दिएका हुन्।
अध्यक्ष कोइरालाले विकास बैंकमा हालै भएको घटनाको उदाहरण दिँदै ऋण असुली (रिकभरी)मा गएका कर्मचारीमाथि भएको भौतिक आक्रमणको घोर भत्र्सना गरे। ‘यो कानूनी राज्य हो, ऋण दिनेदेखि उठाउनेसम्मका सबै प्रक्रिया कानूनी रूपमा स्पष्ट छन्,’ उनले भने, ‘हामी नेपाल राष्ट्र बैंकको निर्देशन र विभिन्न ऐनहरूद्वारा निर्देशित छौं, तर कर्मचारीमाथि भौतिक आक्रमण र कालोमोसो दल्ने जस्ता कार्य हुनु निन्दनीय छ।’
राजनीतिक अभिष्ट पूरा गर्न ५० हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको बैंकिङ क्षेत्रलाई निशाना बनाइएकोमा उनले चिन्ता व्यक्त गरे। यस्ता क्रियाकलापले कर्मचारी र उनीहरूमा आश्रित परिवारको मानसिकतामा गम्भीर आघात पुर्याइरहेको उनको तर्क छ।
मुलुकको अर्थव्यवस्थामा झन्डै ७६ खर्बको निक्षेप परिचालन र ५५ खर्बको ऋण लगानी गरेर बैंकहरू जिम्मेवार रूपमा बसेको उनले स्मरण गराए। कोइरालाले भने, ‘हामी अहिलेसम्म संयमित छौँ। तर, हाम्रो संयमतालाई तोड्ने प्रयास भइरहेको छ। बैंकर्सहरू सधैँ कुटाई खाएर र अपमानित भएर चुप लागेर बस्ने अवस्थामा छैनन्।’
उनले अगाडि थपे, ‘यदि राज्यले सुरक्षा दिन सकेन र हामीले आफ्नो प्रतिरक्षा गर्नुपर्ने अवस्था आयो भने त्यसको परिणाम के होला? भोलि बैंकहरू बन्द गरेर बस्नुपर्ने स्थिति आयो भने राजनीति गर्नेहरूले पनि सोच्नुपर्ने हुन्छ।’
वर्तमान बैंकिङ सिनारियोका बारेमा बोल्दै अध्यक्ष कोइरालाले बजारमा अहिले १२ खर्ब रुपैयाँ बराबरको अधिक तरलता (लगानी योग्य रकम) रहेको जानकारी दिए। तर, राजनीतिक अस्थिरता र पछिल्ला मुभमेन्टहरूका कारण लगानीकर्तामा आत्मविश्वास नहुँदा कर्जाको माग सिर्जना हुन नसकेको उनले बताए।
उनले युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत बैंकका सिईओ र कर्मचारीलाई गाली गर्ने र आतंकित बनाउने कार्य रोक्न सरकार र प्रशासनसँग माग गरे। साथै, पत्रकारहरूलाई पनि समाचार सम्प्रेषण गर्दा प्रमाणित कुरा मात्र लेख्न र कसैको व्यक्तिगत जीवन वा मानसिकतामा असर पर्ने गरी नकारात्मकतालाई बढावा नदिन उनले अनुरोध गरे। ऋण मिनाहाको भ्रम फैलाएर सर्वसाधारणलाई उचाल्ने अभियानले देशलाई कतै नपुर्याउने भन्दै उनले सबैलाई संयमित र कानूनी मार्गमा रहन अपिल गरे।
सोही क्रममा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको भएको हुनाले पहिला सुुधार आफैबाट गर्नुपर्ने बताए। उनले भने, ‘अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको छ। त्यो हिसाबले हेर्दा पहिला हामीले आफैबाट सुधार गर्नुपर्छ।’