काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफ्नो संस्था सदैव सक्रिय भएर अगाडि बढेको बताएका छन्। एनओसीको २१औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले खेलकुदको नीतिनियममा रहेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै खेलकुद क्षेत्रभित्र रहेका विकृतिलाई उखेलेर फाल्नुपर्ने बताए।
खेलकुद क्षेत्रको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै अध्यक्ष श्रेष्ठले एनओसीको विवादलाई समाधान गर्न राज्यले विशेष चासो देखाउनुपर्नेमा जोड दिए। राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल संघका तर्फबाट बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने शुभकामना व्यक्त गरे।
एनओसीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको २१औँ साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तरराष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गरे। एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराए। त्यसअनुसार अबको वर्षमा चार ठूला अन्तरराष्ट्रिय प्रतियोगिता रहेका छन्।
ती प्रतियोगिता जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुनेबीच गेम्स रहेको छ। यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तरराष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन्।
सोही अवसरमा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकत्वमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पिएमसी) गठनका लागि प्रस्ताव गरिएको छ। साधारणसभाले जेनजी आन्दोलनमा सहिद हुनेलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुदमा सहभागी हुने गरेको निर्णयको स्वागत गरेको छ।
यस्तै, साधारणसभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ। कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो। साधारणसभामा कुल २३ संघका प्रतिनिधिको उपस्थिति रहेको थियो।