काठमाडौं,। काठमाडौंको बौद्धमा सञ्चालित क्यासिनो प्राइडबाट गत भदौ २४ गते जेनजी प्रदर्शनको मौकामा भएको करिब १४ करोड रुपैयाँको लुटपाटको अनुसन्धानले नयाँ मोड लिएको छ। लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले अब सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि सुरु गरेको छ।
लुटपाटको मुख्य आरोपमा अहिले तीन जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा रहेकाहरूमा दावा शेर्पा उर्फ 'सेठ्ठी', रञ्जित खड्गी उर्फ 'रने' र दोर्जे शेर्पा छन्। यी तीनै जनाको सम्पत्ति र सो सम्पत्तिको स्रोतबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले बताए।
पक्राउ परेका तीनै जना गुण्डागर्दीको पृष्ठभूमि भएका व्यक्ति हुन्। मुख्य आरोपी दावा शेर्पा उर्फ सेठ्ठी काठमाडौं–६ बौद्धमा बस्छन्। २९ वर्षीय रञ्जित खड्गी बुढानीलकण्ठ नगरपालिका–१२ का स्थानीय हुन्। ३० वर्षीय दोर्जे शेर्पा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भएर गोकर्णेश्वरमा बस्छन्। तीनै जनाको सम्पत्तिबारे गहन अनुसन्धान भइरहेको छ। "उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ," उनले भने। प्रहरीले यी आरोपीहरूले कसरी सम्पत्ति आर्जन गरे, कहाँ कहाँ लगानी गरेका छन् र आर्थिक कारोबारको स्रोत के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न निकै समय लाग्ने भएकाले प्रहरीले यस अनुसन्धानलाई दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा लुटपाटको मुद्दा अदालत लैजाने र त्यसपछि दोस्रो चरणमा सम्पत्ति शुद्धीकरणको पूरक अभियोग लैजाने तयारी प्रहरीले गरेको छ।
"पहिलो चरणमा लुटपाटको मुद्दा अदालत जान्छ, त्यसपछि सम्पत्तिको पूरक अभियोग लैजान्छौं," एसएसपी थापाले भने। उनका अनुसार लुटपाटको प्रारम्भिक अनुसन्धान टुङ्गो लागेपछि सम्पत्ति शुद्धीकरणको विस्तृत प्रतिवेदन तयार पारिने छ। सम्पत्तिको स्रोत, लगानी क्षेत्र र आर्थिक कारोबारको विवरण संकलन गर्न अझै केही समय लाग्ने प्रहरीको भनाइ छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० को चैत ३० गते संशोधन भएसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान गर्ने जिम्मेवारी पाएको हो। ऐन संशोधनपछि अनुसन्धान र अभियोजन गर्ने निकायलाई 'सम्बद्ध कसुरसँग' जोडिएको अवस्थामा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन पाउने अधिकार दिइएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र यस्ता मुद्दाको अनुसन्धान गर्दै आएको थियो। तर ऐन संशोधनपछि लुटपाट, चोरी, जबरजस्ती असुली लगायतका आपराधिक कसुरमा संलग्न व्यक्तिहरूको सम्पत्ति शुद्धीकरणको अनुसन्धान सम्बन्धित प्रहरी निकायले नै गर्न पाउने व्यवस्था भएको हो।
यो ऐन संशोधनको व्यावहारिक प्रयोगका रूपमा क्यासिनो लुटपाटको यो घटना लिन सकिने प्रहरी अधिकृतहरू बताउँछन्। यसअघि प्रहरीले लुटपाटको मात्र अनुसन्धान गर्ने र सम्पत्ति शुद्धीकरणको लागि छुट्टै निकायमा जानुपर्ने बाध्यता थियो। अब एउटै घटनाका दुवै पक्ष एकै निकायले अनुसन्धान गर्न सक्ने भएकाले अनुसन्धान प्रभावकारी हुने विश्वास प्रहरीले लिएको छ।
घटनाको अनुसन्धानबाट खुलेको तथ्यअनुसार क्यासिनो प्राइडमा नै टेबल चलाउने दावा सेठ्ठीले लुटपाटको योजना बनाएर कार्यान्वयन गरेका थिए। क्यासिनोमा सञ्चालकसँग टेबल किनेर जुवा खेलाउने गरिन्छ। त्यस्तै टेबल सञ्चालक भएका सेठ्ठीले नै भदौ २४ गते जेनजी प्रदर्शनको मौकामा लुटपाटको नेतृत्व गरेको एसएसपी थापाले बताए।
क्यासिनोको आन्तरिक व्यवस्था र सुरक्षा प्रणालीबारे राम्रोसँग जानकार भएका सेठ्ठीले जेनजी प्रदर्शनको अराजकतालाई मौका मानेर घरेलु हतियार बोकेर लुटपाटको नेतृत्व गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। क्यासिनोभित्रको व्यवस्था, रकम राखिने स्थान र सुरक्षाकर्मीको नियमित चलखेल जानेकाले यो लुटपाट योजनाबद्ध रूपमा भएको प्रहरीले ठहर गरेको छ।
लुटपाटमा सेठ्ठी एक्लै थिएनन्। उनीसँगै तथाकथित 'काभ्रेली समूह' पनि क्यासिनोमा प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। काभ्रेली समूहका कुलध्वज लामा उर्फ 'कुले', सञ्जय तामाङ र राकेश तामाङ यस लुटपाटमा संलग्न रहेको तर उनीहरू अहिले फरार रहेको प्रहरी अधिकृतहरू बताउँछन्। चासोको विषय के छ भने लुटपाटमा संलग्न रहेको आरोप लागेका सञ्जय तामाङ नमोबुद्ध नगरपालिकाको वडा सदस्य हुन्। स्थानीय तहको जनप्रतिनिधि हुँदाहुँदै यस्तो गम्भीर अपराधमा संलग्नता देखिएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेको छ।
काभ्रेली समूह नयाँ होइन। यो समूहको आपराधिक गतिविधिको लामो इतिहास छ। २०७९ पुस ७ गते काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्जमा रमेश भट्टलाई कुटपिट गरेको आरोपमा कुलध्वज लामा सहित आठ जना पक्राउ परेका थिए। कुलध्वज रोशी गाउँपालिका–४ का स्थानीय हुन्।
यसअघि २०७९ जेठ २६ गते काभ्रेली समूहले प्लाटिनम क्लबमा बालुवाटार घर भएका प्रतिष भास्कर सिंहलाई आक्रमण गरेका थिए। सो घटनामा मुख्य आरोपी कुलध्वज पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए। उनी त्यसपछि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको अभिलेख छ।
क्यासिनोमा जडान भएको सीसीटीभी क्यामेराको फुटेजमा लुटेराहरूले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको र लुटपाट गरेर हिँडेको स्पष्ट देखिन्छ। भिडियोमा हतियार देखाएर कर्मचारीहरूलाई धम्की दिँदै रकम लुटेको दृश्य छ। जेनजी प्रदर्शनको मौकामा बाहिर अराजक अवस्था र भित्र क्यासिनोमा लुटपाट भइरहेको थियो।
लुटेराहरूले जेनजी प्रदर्शनको अराजकतालाई राम्रोसँग उपयोग गरेको देखिन्छ। बाहिर प्रदर्शन र हिंसाको कारण प्रहरी व्यस्त भएको मौकामा क्यासिनोमा प्रवेश गरेर छिटो रकम लुटेर भाग्ने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ।