काठमाडौं। सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बिमाको रकम हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ। अदालतले उनीहरुलाई जनही दुई वर्ष कैद र २४ लाख रुपैयाँभन्दा बढी बिगो तथा जरिवाना असुल गर्न आदेश दिएको हो।
अदालतका अध्यक्ष एवम् न्यायाधीश सुदर्शनदेव भट्ट सदस्यद्वय न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो। प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध रकम हिनामिनाको अभियोग लगाइएको थियो। अदालतका अनुसार प्रतिवादीले भ्रष्टाचार गरी हिनामिना गरेको ठहर भएको कुल विगो रकम २४ लाख २ हजार ९० रुपैयाँ रहेको छ।
उक्त रकम प्रतिवादी सुवेदी, शाही र मगरले दामासाहीका आधारमा जनही ८ लाख ६९६ रुपैयाँ ६६ पैसा बेहोर्नुपर्ने देखिएको छ। यस्तै, स्वास्थ्य बिमातर्फ हिनामिना भएको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसामध्ये सुवेदी र शाहीले जनही ८२ हजार ७१८ रुपैयाँ २५ पैसा बिगो कायम गरिएको छ।
यसअनुसार सुवेदी र शाहीको हकमा जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा तथा मगरको हकमा ८ लाख ६९६ रुपैयाँ ६६ पैसा विगो कायम भएको अदालतले जनाएको छ। अदालतले प्रतिवादी प्रतिवादीको कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३९१० को देहाय (घ) अन्तर्गत पर्ने ठहर गरेको छ।
फैसलाअनुसार सुवेदी र शाहीलाई जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा जरिवाना गरी सोही बराबरको विगो रकम असुल गर्न आदेश दिइएको छ। त्यस्तै, मगरलाई ८ लाख ६९६ रुपैयाँ ६६ पैसा जरिवाना गरी सोही बमोजिमको विगो रकम असुल गर्नुपर्ने ठहर गरिएको छ।