काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ मा खेलिने खेलबारे क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। आज क्यानले जनवरीदेखि डिसेम्बरसम्मका खेलतालिका सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार सन् २०२६ को फेब्रुअरीमा भारतमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकप नेपाली टोलीका लागि वर्षको सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले मार्च, मे, जुलाई र अक्टोबरमा विभिन्न शृंखला खेल्नेछ।
क्यानका अनुसार मार्च र मे महिनामा नेपालले घरेलु मैदानमै ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अक्टोबर र नोभेम्बर महिनामा बहुप्रतिक्षीत नेपाल प्रिमियर लिग आयोजना हुने तालिकामा समेटिएको छ।
जनवरीमा नेपालले आईसीसी महिला टी–२० विश्वकप छनोट आयोजना गर्नेछ। जुन महिनामा बेलायतमा हुने आईसीसी महिला टी–२० विश्वकप र जुलाईमा हुने महिला एसिया कप महिला टोलीका लागि मुख्य वैदेशिक भ्रमण हुनेछन्।
अप्रिलमा कुवेतसँगको द्विपक्षीय सिरिज र अक्टोबरमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पनि प्रस्ताव तालिका समावेश गरिएको छ।
युवा क्रिकेटतर्फ यु–१९ महिला टोलीले मार्चमा भुटान र जुनमा मलेसिया भ्रमण गर्नेछ। अगस्तमा एसीसी पुरुष यु–१९ प्रिमियर कप र यु–१६ इस्ट जोन कपजस्ता प्रतियोगिता हुनेछन्। नेपाल ए टोलीका लागि पनि अप्रिल र मे महिनामा विभिन्न शृंखला प्रस्ताव गरिएका छन्।
वर्ष अन्त्य अर्थात् डिसेम्बरमा पुरुष तथा महिला दुवै टोलीले अन्तर्राष्ट्रिय शृंखला खेल्ने गरी कार्यतालिका निर्माण गरिएको छ। यीमध्ये धेरैजसो प्रतियोगिता घरेलु मैदानमै हुनेछन्।
