काठमाडौं। गोल्डस्टार सुज (किरण सुज)की कार्यकारी निर्देशक विदुषी राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा आफ्नो नाम परेपछि भएको विरोधबारे स्पष्टीकरण दिएकी छन्।
सामाजिक संजालमा चर्को आलोचना भएपछि राणाले आफूलाई पद वा राजनीतिक महत्वाकांक्षा नभई देशको उत्पादनशील भविष्य र महिलाको आर्थिक सशक्तिकरणका लागि जिम्मेवारी बोकेको बताएकी छन्।
उद्योग, उत्पादन र श्रमसँग जोडिएर आफ्नो परिवारले ५५ वर्षभन्दा बढी इतिहास बोकेको गोल्डस्टार जुत्ता उद्योगसँग लामो समयदेखि आबद्ध भएको बताउँदै त्यही उद्योगमार्फत चार हजार महिलाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गरिन्।
उनी भन्छिन्, ‘उद्योग केवल व्यापार होइन, यो देशको भविष्य निर्माण गर्ने आधार हो। स्वदेशी उत्पादन, निर्यात प्रवर्द्धन र महिलाको आर्थिक सशक्तिकरण हाम्रो दैनिक यथार्थ हो।’
तर, उनले चिन्ता व्यक्त गर्दै आज उत्पादन क्षेत्र जीडीपीको पाँच प्रतिशतभन्दा कममा सीमित भएर अर्थतन्त्र रेमिट्यान्स तथा आयातमा अत्यधिक निर्भर बन्दै गएको बताइन्। यसको असर युवाको रोजगारी, महिलाको आत्मनिर्भरता र राष्ट्रको दीर्घकालीन भविष्यमा परेको छ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को आग्रहमा आफ्नो नाम समानुपातिक सूची राखिएको बताउँदै भनिन्, ‘यो भूमिका व्यक्तिगत लाभका लागि नभई देश र उद्योगको लागि स्वीकारेको हुँ। म कुनै राजनीतिक महत्वाकांक्षी होइन। मेरो चासो पदमा होइन, मुद्दामा छ। भविष्यमा यी एजेन्डालाई सक्षम र योग्यसँग अघि बढाउन सकिन्छ भने म पूर्ण सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न तयार छु।’
उद्योग, रोजगारी र महिलाको आर्थिक सशक्तिकरण नेपालको दीर्घकालीन भविष्यको मेरुदण्ड भएको बताउँदै विश्वासका साथ संसदमा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्धता व्यक्त गरेकी छन्।