काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तीन दिनसम्म देश नेतृत्वविहीन बन्यो। देश गम्भीर संकटमा परेको अवस्थामा भदौ २७ गते देशको प्रथम महिला प्रधानमन्त्री बनिन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की।
सरकार गठन भएसँगै प्रधानमन्त्री कार्कीले तत्कालीन संसद भंग गरी फागुन २१ अर्थात आज प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तोकेकी थिइन्। विषम परिस्थितिमा बनेको सरकारलाई मन्त्रिपरिषद गठन गर्न सकस पर्यो। पूरा मन्त्रिपरिषद बनाउन नसकेको प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने भन्दै ठूला दलहरू संसद पुर्नंस्थापनाको माग राख्दै सर्वाेच्च अदालतमा पुगे।
आन्दोलन गरी सरकार परिवर्तन गराएको जेनजी आन्दोलनरत पक्ष विभिन्न गुठउपगुठ बनेर प्रधानमन्त्री कार्कीमाथि चुनाव गराउन दबाब दिन्थ्यो। चुनाव हुने वा नहुने अन्यौलका बीच प्रधानमन्त्री कार्कीले आज देशभरि सफलापूर्वक मतदान गराउन सफल भएकी छन्।
यो सफलताको कथा जति सजिलो गरी टुंगिन लागेको देखिन्छ, यसको सुरुवात सम्झना जो कसैलाई अत्यास लाग्न सक्छ। तत्कालीन संसदको बहुमतका प्रधानमन्त्री केपी ओली अपदस्त बनेसँगै सुशीलाको काँधमा नागरिक सरकारको जिम्मेवारी पुगेको थियो।
आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्कीले आफूले बोलेको मितिमा चुनाव गराउन सफल भएकी हुन्। देशभर शान्तिपूर्ण निर्वाचन हुँदा केही स्थानबाहेक कहीकतै कुनै विवाद भएन। निर्वाचन सफल भएसँगै मत परिणामपछि प्रधानमन्त्री कार्कीले नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने छिन्।
दलसँग दुरी, राष्ट्रपतिको साथ
प्रधानमन्त्री कार्की सरकारको नेतृत्वमा पुगेसँगै दलका शीर्ष नेताहरू उनको विरोधमा उत्रिए। दुई ठूला दल रहेको तत्कालीन सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमाले विघटित संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा रिट हाल्न पुगे।
एमाले अध्यक्ष ओली खुलेर जसरी भए पनि सुशीला कार्की नेतृत्वको सरकार ढाल्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए। उनी आफूविरुद्ध सरकारले पक्राउसमेत गर्न सक्ने भन्दै हरेक भाषणमा प्रधानमन्त्री कार्कीविरुद्ध खनिँदै आएका थिए। अन्य दलका नेताहरूसमेत प्रधानमन्त्री कार्कीमाथि विश्वास्त बन्न सकेका थिएनन्।
यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले सोझै दलका नेताहरूलाई बोलाउन नसकेर राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरिदिनु परेको थियो। त्यसपछि बल्ल प्रधानमन्त्री कार्कीले नेताहरूलाई सोझै बोलाउने बाटो खुलेको हो।
यसबीच एमालेले आफ्नो महाधिवेशन निर्धारित समयभन्दा पहिले नै गरेर उही नेतृत्वलाई दोहोर्याउन सफल बन्यो। कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भयो। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वाम घटकहरू मिलेर नेकपा बन्न पुग्यो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भए। कुलमान घिसिङ, हर्क साम्पाङलगायत चर्चित बनेका व्यक्तिहरूले दल गठन गरे। चुनावको मुखमा देखा परेको अनेक परिस्थितिबीच सबै दल शान्तिपूर्ण चुनावमा होमिए।
धोकालाई भुलाउने सारथि
प्रधानमन्त्री कार्की आफू नियुक्त भएसँगै चुनावी सरकार बनाउनका लागि आफूलाई पूरा साथ दिने सारथिको खोजीमा थिइन्। यसै परिस्थितिमा उनले कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्तालाई महत्वपूर्ण जिम्मेवारी दिइन्।
तर, चुनाव नजिकिँदै जाँदा आफ्नै सारथिहरूले साथ छाडिदिए। उनीहरूले आफ्नो जिम्मेवारी छाडेर नयाँ अवसर खोजी गर्दै चुनावमा होमिएपछि सरकारलाई केही असजिलो बन्न पुग्यो। बाँकी मन्त्रीलाई साथमा लिएर चुनाव गर्नुपर्ने दायित्व उनको काँधमा थपियो।
उनले पूरा विश्वास गरेर मन्त्रालयको जिम्मेवारी दिएकाहरूले छाडेर गए पनि पूरा साथमा रहे, गृहमन्त्री ओमप्रकाश अर्याल। उनै ओमप्रकाशसहित केही सिमित मन्त्रालयलाई साथ लिएर चुनाव गराउन सफल बनिन्। ढल्न लागेको लोकतन्त्र जोगाउँदै नेतृत्वविहीन देशको विश्वासिलो अभिभावक बनिन्।