काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुने भएका छन्।
दुई कम्पनीबीच मर्जरका लागि गत साउन ४ मा समझदारीपत्रमा हस्ताक्षर भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी १ः१ को सेयर अनुपात निर्धारण गरेको थियो।
मर्जर समितिले अनुमोदनका लागि सञ्चालक समितिमा पेश गरेकोमा समृद्धि फाइनान्सको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा मर्जरमा जाने निर्णय स्वीकृत गरेको हो। यसअघि राष्ट्र बैंकले गत असोज २८ मा समृद्धि र पोखरा फाइनान्सलाई मर्जरको सैद्धान्तिक सहमति दिएको थियो।
दुवै कम्पनीबीच गत साउन ४ मा आपसमा मर्जर सम्झौता भएको थियो। मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीले लिएका छन्।
समृद्धि फाइनान्सको २३औं र पोखरा फाइनान्सको २७औंँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।
यसअघि गत वैशाख १० मा राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गर्दै कम्पनीका पूर्वसीइओ रविचन्द्र गुरुङलाई ५ लाख रुपैयाँ जरिवाना गरेको थियो।
उबेला कम्पनीको खराब कर्जा अनुपात ३३।४४ प्रतिशत पुग्नुका साथै पुँजीकोष ऋणात्मक अवस्थामा रहेपछि गुरुङलाई ५ लाख रुपैयाँ जरिवाना तिराएर सीईओ पदबाट बर्खास्त गरिएको थियो।
गुरुङको बर्खास्तीपछि पोखरा फाइनान्सको सञ्चालक समितिले प्रकाश गुरुङलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
राष्ट्र बैंकले पोखरा फाइनान्सलाई नयाँ निक्षेप तथा कर्जा खाता खोल्न रोक लगाएको थियो। यद्यपि पछि राष्ट्र बैंकले कारबाही फुकुवा गरेको थियो।