काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा पार्टीले बहुमत आए डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने बताएका छन्।
सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा बोल्दै लामिछानेले उपसभापति वाग्लेतर्फ संकेत गर्दै 'डाक्टर साहब, अब आउने वर्षको बजेट लेख्न सुरु गर्नुस्' भन्दै अर्थ मन्त्रालयको जिम्मेवारीको संकेत गरेका हुन्।
यसअघि रास्वपाले आगामी निर्वाचनमा काठमाडौं महानगरका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने घोषणा गरिसकेको छ। यही सन्दर्भमा रास्वपाको पहिलो स्पष्ट अर्थ मन्त्रीसम्बन्धी घोषणा हो। लामिछानेले पार्टी एकतापछि जिम्मेवारी झन् बढेको उल्लेख गर्दै कार्यकर्तालाई पुराना दलका नेता तथा कार्यकर्तामाथि कटाक्ष नगर्न आग्रह गरे।
उनले पार्टी एक भएपछि ‘पपुलिस्टहरू मिले’ भनेर आलोचना हुने गरेको उल्लेख गर्दै यस्ता गालीगलौजबाट विचलित नहुन कार्यकर्तालाई निर्देशन दिए। 'हाम्रा नेताहरूलाई गाली गरेर कोही सन्तुष्ट हुन्छन् भने उनीहरूलाई सन्तुष्ट हुन दिनुस्,' उनले भने।
आफू कारागारमा रहँदा विभिन्न व्यक्ति र समूह भेट्न आएको स्मरण गर्दै लामिछानेले आफूले चाहेर भेटेका भने थरूहट आन्दोलनमा संलग्न व्यक्तिहरू मात्र भएको बताए। उनले पुराना राजनीतिक दलहरूलाई परिवर्तन स्वीकार्न कठिनाइ भइरहेको टिप्पणी गर्दै आफ्नो कमजोरी स्वीकार्न आग्रह गरे।
'देश जरजर अवस्थामा पुगेको छ। यदाकदा आएको परिवर्तनलाई स्वीकार्न नसक्ने अवस्था देखिन्छ,' उनले भने, 'अब थप गइगुज्रिएको बहिर्गमनको सपना नदेख्नुस् र निर्वाचनलाई सहज रूपमा अघि बढ्न दिनुस्।'