काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको जागृति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र लेखापरीक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज सरकारी रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुले त्रियुगा नगरपालिका-१ मा रहेको जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकको मिलेमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।
मुद्दा दायर हुनेमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मीनाकुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुक लाल चौधरी रहेका छन्। उनीहरूले संस्थाको ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको अख्तियारको आरोप छ।
उनीहरूमाथि आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक वनको भवन निर्माणमा प्राविधिक प्रतिवेदन अनुसार ४ लाख ९५ हजार खर्च भएकोमा लेखापरीक्षणमा ८ लाख ८ हजार खर्च देखाई ३ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको, साधारणसभाबाट २ लाख ३७ हजार अनुमोदन भएकोमा ३ लाख ५४ हजार खर्च देखाई १ लाख १६ हजार हिनामिना गरेको आरोप छ।
यस्तै, ग्यास सिलिण्डर वितरणमा ५ लाख ९ हजार खर्च भएकोमा ५ लाख १६ हजार देखाई ७ हजार बढी रकम हिनामिना गरेको, हुँदै नभएको सडक ग्राभेलको काम भएको भनेर ७७ हजार ६०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ।
अख्तियारले तत्कालीन अध्यक्ष मीनाकुमारी, सचिव जानकी र कोषाध्यक्ष निलमलाई ५ लाख १५ हजार ३०२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ। लेखापरीक्षक तनुकलाललाई पनि गलत प्रतिवेदन पेस गरेको कसुरमा कैद र जरिवानाको माग गरिएको अख्तियारले जनाएकाे छ।