काठमाडौं। बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको आयोजनामा पूर्वगिनिज विश्व कीर्तिमानधारी तथा प्रख्यात स्मरण शक्ति खेलाडी कृष्ण पाण्डेयले माघ ६ गते गिनिज विश्व कीर्तिमान स्थापना गर्ने प्रयास गर्ने भएका छन्। उक्त प्रयास काठमाडौँ मोडेल माध्यमिक विद्यालय, बागबजारमा सम्पन्न हुनेछ।
५० वटा शब्द उल्टो क्रममा सबैभन्दा छिटो उच्चारण गर्ने विधाअन्तर्गत हुने यो कीर्तिमान प्रयास गिनिज विश्व कीर्तिमान संस्थाले तोकेका कडा नियम, मापदण्ड र प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिने आयोजकले जनाएका छन्।
कार्यक्रम एमआईटी कलेजको आयोजनामा काठमाडौँ मोडेल माध्यमिक विद्यालयको सहकार्यमा हुँदैछ भने कार्यक्रममा पाहुना सत्कार व्यवस्थापनमा बेस्ट वेस्टर्न प्लस होटलले सहयोग गर्नेछ।
एमआईटी कलेजका सहसंस्थापक आर.के. दाहालका अनुसार कीर्तिमान प्रयास पूर्ण रूपमा नियन्त्रित, शान्त तथा ध्यानभंगरहित वातावरणमा सम्पन्न गरिनेछ। कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समय मापन, व्यावसायिक तस्बिर तथा भिडियो अभिलेखको व्यवस्था गरिनेछ। संकलित सम्पूर्ण प्रमाण सामग्री कार्यक्रमपछि गिनिज विश्व कीर्तिमान संस्थामा प्रमाणीकरणका लागि पेश गरिनेछ।
कीर्तिमान प्रयासबारे प्रतिक्रिया दिँदै कृष्ण पाण्डेयले विदेशमा गिनिज विश्व कीर्तिमान हासिल गरेको अनुभव अविस्मरणीय रहेको उल्लेख गरे। 'नेपालमै पुनः गिनिज विश्व कीर्तिमान प्रयास गर्न पाउनु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो,' उनले भने, 'यो प्रयास केवल अर्को कीर्तिमान थप्ने विषय मात्र होइन, नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले गरिएको हो।'
कार्यक्रमको सफल, पारदर्शी तथा विश्वसनीय कार्यान्वयन सुनिश्चित गर्न आयोजक, सहकार्य संस्था तथा सरोकारवालाबीच औपचारिक कार्यक्रम सम्झौता सम्पन्न भइसकेको छ। उक्त सम्झौतामा भूमिका, जिम्मेवारी, व्यवस्थापन, सञ्चार समन्वय तथा गिनिज मापदण्डको पूर्ण पालनासम्बन्धी प्रावधान समेटिएका छन्।
माघ ६ गते हुने कार्यक्रममा आधिकारिक कीर्तिमान प्रयाससँगै त्यसमा असर नपर्ने गरी सीमित औपचारिक कार्यक्रम, सञ्चारकर्मीसँग अन्तर्क्रिया तथा सहकार्य संस्थाको सम्मान कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएका छन्।