काठमाडौं। अमेरिकाले भिसासम्बन्धी नियममा थप कडाइ गर्दै नेपालसहित ३८ देशका नागरिकका लागि नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ।
योसँगै आगामी दिनमा नेपाली नागरिकले अमेरिका भ्रमण वा व्यावसायिक प्रयोजनका लागि बी-१ र बी-२ भिसा आवेदन दिँदा धरौटी रकम बुझाउनुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले जनवरीमा जारी गरेको पछिल्लो अपडेटअनुसार यो व्यवस्था जनवरी २१ देखि लागू हुनेछ। यसअघि सीमित देशमा मात्र लागू हुँदै आएको धरौटी प्रणालीलाई विस्तार गर्दै अमेरिकी प्रशासनले थप देशहरू समेटेको हो।
भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले आवेदकको व्यक्तिगत अवस्था, यात्रा उद्देश्य र अघिल्लो भिसा इतिहासको मूल्यांकन गरी धरौटी रकम तोक्ने छन्। धरौटी रकम न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार अमेरिकी डलरसम्म रहनेछ।
धरौटी रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल ‘पे डट गभ’मार्फत जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। कुनै पनि तेस्रो पक्ष, एजेन्ट वा दलाललाई यस्तो रकम नबुझाउन अमेरिकी विदेश मन्त्रालयले स्पष्ट चेतावनी दिएको छ।
भिसा बन्ड राखेर अमेरिका जाने नेपाली नागरिकले तोकिएका सीमित विमानस्थल मात्र प्रयोग गर्न पाउने छन्। न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्टन डीसीस्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल तथा बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अमेरिका प्रवेश र बहिर्गमन गर्न अनुमति दिइनेछ।
यीबाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुने र भविष्यमा अमेरिका प्रवेशमा रोक लाग्न सक्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ।
धरौटी स्वरूप राखिएको रकम निश्चित सर्त पूरा भएमा फिर्ता गरिने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र अमेरिका छोडेमा, भिसाका सर्त उल्लंघन नगरेमा र तोकिएका तीनवटै विमानस्थलमार्फत बाहिरिएको अभिलेख प्रस्तुत भएमा मात्र धरौटी रकम फिर्ता हुने मन्त्रालयले जनाएको छ।
तर, भिसाको म्याद सकिएपछि पनि अमेरिकामा बस्ने, वा त्यहाँ पुगेर शरणार्थी हैसियतका लागि दाबी गर्ने आवेदकको धरौटी रकम जफत हुनेछ।
समयमै आफ्नो देश नफर्कने नागरिकको संख्या धेरै भएका देशलाई लक्षित गरी यो ‘पाइलट प्रोग्राम’ लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। नेपालसँगै यस सूचीमा बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएलालगायत ३८ देश समावेश छन्।