काठमाडौं। दोलखाको गौरीशंक गाउँपालिकाले घरेलु मदिरा ब्रान्डिङ थालेको छ। गाउँपालिकाले परम्परागत घरेलु मदिरालाई व्यवस्थित र व्यवसायिक ढंगमा बजारमा ल्याउने महत्वाकांक्षी योजना साथ ब्रान्डिङ गर्न थालेको हो।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले पहिलो चरणमा घरेलु मदिरा उत्पादन तथा ब्रान्डिङका लागि मापदण्ड बनाइएको जानकारी दिए। योसँगै घरेलु मदिरा उत्पादन तथा ब्रान्डिङका लागि इच्छुकहरुलाई आवेदन माग गरिएको बताए।
गाउँपालिकाको घरेलु मदिरा व्यवस्थापन तथा प्रवर्धन समितिको पुस २३ गते बसेको बैंठकले मापदण्ड सार्वजनिक गरेको हो। समितिका अनुसार अब उत्पादन हुने मदिरा निर्धारित अल्कोहल स्तर, गुणस्तरीय कच्चा पदार्थ, मापदण्डअनुसारको उपकरण, स्वच्छता र अनिवार्य लेबलिङसहित बजारमा उपलब्ध हुनेछ। २० प्रतिशत र २५ प्रतिशत अल्कोहल स्तर भएका मदिरा उत्पादनका लागि अलग अनुमति प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले जानकारी दिए।
गाउँपालिकाले प्रत्येक वडामा अधिकतम दुई समूह वा निजी फर्मलाई मात्र उत्पादन अनुमति दिने व्यवस्था गरेको छ। यसले गुणस्तर कायम राख्दै प्रतिस्पर्धात्मक बजार सिर्जना गर्ने विश्वास गरिएको उनले बताए। उत्पादन समूह वा फर्मले प्रत्येक बोतल बिक्रीमा १ रुपैयाँ समितिलाई बुझाउनुपर्नेछ। जुन प्रवर्द्धन तथा बजार व्यवस्थापनमा प्रयोग हुने व्यवस्था गरिएको उल्लेख छ।
‘स्थानीय कृषक, उत्पादनकर्ता र व्यवसायीका लागि अवसरको ढोका मात्र होइन, स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्ने रणनीति पनि हो,’ प्रशासकिय अधिकृत उपरकोटीले भने ‘यो पहलले गाउँमा रोजगारी सिर्जना, स्थानीय कच्चा पदार्थको उपयोग र घरेलु उत्पादनको ब्रान्डिङ मार्फत बजार पहुँचलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।’ इच्छुकहरुले आगामी १५ दिनभित्र इच्छुक समूह वा फर्मले आवेदन पेश गर्न सक्ने जनाएको छ।