काठमाडौं। नेपाली कांग्रेसभित्र ठूलो रस्साकस्सीबीच दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा दुई दिन चल्ने विशेष महाधिवेशनको पहिलो दिन ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरे।
विशेष महाविधेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले महाधिवेशनको बन्द सत्रले तय गर्ने जुनसुकै निर्णय स्वीकार गर्नुपर्ने बताए। सम्बोधनमा उनले भने, ‘तपाईंहरूको उपस्थितिले पनि देखाउँछ। यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन। यसलाई हामीले विशेष बनाएर देखाउनुछ। यो अवसर पनि हो। चुनौती पनि हो। भोलि बिहान ८ बजे हामी जम्मा हुन्छौँ। हलले जे स्थापना गर्ने भन्छ। त्यही हुन्छ।’
यस क्रममा उनले बन्द सत्रमा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू पनि सहभागी हुने विश्वास व्यक्त गरे। ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ। नेताहरू आउने वा नआउने उहाँहरूको मर्जी,’ उनले भने, ‘निर्णय गर्ने तपाईंहरूको मर्जी। तपाईंहरूले नै निर्णय गर्ने हो।’
यस्तै, महामन्त्री थापाले कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही नभएको स्पष्ट भएको बताए। उनले भने, ‘महाधिवेशनले चायो भने नेता पनि छान् नेतृत्व बदल्छ। विधान पनि बदल्छ। त्यो अधिकार राख्नेको भेला हो यो।’
विशेष महाधिवेशनको निर्णय स्वीकार गर्नुपर्ने बताउँदै महामन्त्री थापाले आफूहरूले कुनै हस्तक्षेप नगर्ने संकेत गरे। यसअघि उनले आफूहरूले पटक-पटक सभापति देउवासँग भेट गरी बदलिँदो परिवेशमा पार्टी राजनीति फरक शैलीमा अगाडि लैजानुपर्ने बताउँदै आएको स्मरण गरे।
भेलालाई सम्बोधन गर्ने क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र भएका प्रत्येक नागरिकको असन्तुष्टिको केस्राकेस्रा गरी केलाउने बताए। ‘आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू, कसैले लाइभ हेर्दै हुनुहुन्छ। कसैले युट्युबमा हेर्दै हुनुहुन्छ भने तपाईंका प्रत्येकको असन्तुष्टि केस्राकेस्रा, बुँदाबुँदा हामी कांग्रेसको महाधिवेशनमा छलफल गर्ने छौँ। पहिचान गर्ने छौँ,’ उनले भने।
यस क्रममा नेताहरूले आगामी दिनमा हुने जुनसुकै परिस्थितिको सामाना गर्न तत्पर हुन आग्रह गरेका थिए।
यस्तै, उनले गत भदौमा आन्दोलन गरेको भन्दै जेनजीप्रति नकारात्मक बन्न नपर्ने बताए। ‘जेनजीप्रति नकरात्मक बन्न जरूरी छैन। जेनजी अन्तरिक्षबाट आएका थिएनन्। जेजनी हाम्रै काखमा हुर्किएका भाइबहिनी थिए। हाम्रै आँगनमा हुर्किएका काखमा हुर्के बढेका छोराछोरी थिए,’ उनले भने।
महामन्त्रीहरूको आह्वानसँगै विशेष महाधिवेशनमा सहभागी नेताहरूले आगामी पार्टी नेतृत्व गगन-विश्वप्रकाशले लिनुपर्ने बताएका थिए। यस क्रममा नेताहरूले आगामी दिनमा हुने जुनसुकै परिस्थितिको सामाना गर्न तत्पर हुन आग्रह गरेका थिए।
यस क्रममा कांग्रेस काभ्रे सभापति तीर्थ लामाले पार्टीको जिम्मेवारी महामन्त्रीहरूको काँधमा आएको बताएका थिए। उनले उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको भविष्यलाई अगाडि बढाउनुपर्ने बताए।
यस्तै, सम्बोधनका क्रममा केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न हौसला दिए। ‘म महामन्त्रीद्वयलाई बधाई दिन चाहन्छु। तपाईंहरू अघि बढ्नुस्। नछोड्नुस्,’ उनले भने, ‘कुरिरहेको विकासको खुड्किलोसम्म पुर्याउनुस्। यसको सार्थक पुरस्कार देश र पार्टीले पाउनेछ।’
अर्का नेता महेश आचार्यले दुई होनाहार महामन्त्रीहरू भोलिको कांग्रेस भन्दै शुभकामना दिन भ्याएका थिए। ‘उहाँहरू भोलिको कांग्रेस हो। शेरबहादुर जी उहाँका साथीहरूको पुस्ता हिजोको कांग्रेस हो। हिजोका कांग्रेसलाई सम्मान छ। तर, भोलिका कांग्रेसलाई स्वागत गर्न मेची, महाकालीका साथीहरू आज विशेष महाधिवेशनमा उपस्थिति हुनुभएको छ,’ उनले भने।
तीन महिनाअघि ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग राख्दै पार्टी कार्यालयमा हस्ताक्षर पेश गरेका थिए।
पार्टीभित्र ठूलो विवादका बीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विशेष महाधिवेशन आह्वान गरेका थिए। सभापति शेरबहादुर देउवा पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगर्ने तयारी गरेसँगै पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन सुरु भएको हो।
कांग्रेसमा देशभरबाट चार हजार ७४३ प्रतिनिधिमध्ये विशेष महाधिवेशनको पहिलो दिन ६२ प्रतिशतले हस्ताक्षर गरिसकेका छन्। तीन महिनाअघि ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग राख्दै पार्टी कार्यालयमा हस्ताक्षर पेश गरेका थिए।
विशेष महाधिवेशन नजिकिएसँगै पार्टीभित्र संस्थापन पक्षको रुपमा रहेका देउवानिकट नेताहरूसमेत महाधिवेशनको पक्षमा उभिएका थिए। यस्तै, अर्का नेता शेखर कोइराला पक्षका नेताहरू पनि महाधिवेशनमा पुगेका छन्।