काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। थापाले आज मैतिदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका हुन्। थापा सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार छन्।
उनी मतदान गर्न बुधबार काठमाडौं आएका थिए। थापा आजै सर्लाही जाने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
यसअघि उनी काठमाडौं– ४ बाट उम्मेदवारी दिँदै आएका थिए। यसपटक काठमाडौं–४ मा कांग्रेसले सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यान्डेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए। ‘संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो। त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो’, उनले भने, ‘निर्वाचन हुने नहुने द्विविधाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।’ कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।
-1772684981.jpg)
सभापति थापाले मधेस बसाइँले आफ्नो राजनीतिक दृष्टिकोणलाई फराकिलो र परिपक्व बनाएको प्रतिक्रिया दिए। काठमाडौँमा बसेर लामो समय राजनीति गर्दा देशबारे केही प्रतिशत मात्र बुझेको महसुस मधेस पुगेपछि भएको उनको भनाइ थियो। चुनावी अभियानका क्रममा १०–१२ दिन मधेसमा बिताउँदा त्यहाँको समाज, विविधता र संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनले बताए।
थापाले मधेसको अनुभवले आफूलाई राष्ट्रिय नेताको रूपमा पूर्ण बनाएको प्रतिक्रिया दिए। ‘मलाई पहाडको अनुभव छ, काठमाडौँको यत्रो वर्षको अनुभव छ, तर मधेसको अनुभव लिँदा पूर्ण भएँ,’ उनले भने।
आफूले प्रतिनिधित्व गर्ने अवसर पाएमा नीति निर्माण र निर्णय प्रक्रियामा सबै क्षेत्रलाई समान दृष्टिकोणका साथ हेर्ने प्रतिबद्धता उनले जनाए।