काठमाडौं नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत प्रतिनिधि दर्ता ८ बजेदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र महाधिवेशन प्रतिनिधि दर्ता बाँकी रहेपछि १० बजेलाई सारिएको हो।
सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम छ। त्यसपछि कार्यविधिअनुसार छलफल र निर्णय हुने विशेष महाधिवेशन सचिवालय समन्वय समिति संयोजक मनोजमणि आचार्यले बताए।
बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै ९ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमबारे गहन छलफल गर्ने संयोजक आचार्यले बताए। बन्दसत्रको अध्यक्षता पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन्।
आजको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन्। महामन्त्री शर्माको प्रतिवेदनमा पार्टीको विधानमा गर्नुपर्ने सुधार, संगठन संरचनामा गर्नुपर्ने सुधार, नीतिगत रूपमा पार्टीले सार्वजनिक गर्ने राष्ट्रिय प्रतिबद्धतासहितका विषय समेटिने बताइएको छ।
महामन्त्री थापाको प्रतिवेदनमा त्यसको समसामयिक राजनीतिक अवस्थाको समीक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीतिमा पार्टीले गर्ने नेतृत्वदायी भूमिका र अबको गन्तव्यसहितका विषय समेटिने बताइएको छ। दुवै प्रतिवेदन बन्दसत्रका सहभागीको सुझावसहित पारित गरेपछि नेतृत्व चयन गर्ने वा नगर्ने निर्णय गर्नेछ।