काठमाडौं। आइतबार भृकुटीमण्डपमा हजुरबा पुस्ताविरुद्ध उर्लिएको नाति पुस्ताले नेपाली कांग्रेसलाई विशेष ऊर्जा दिने ठानिएको छ। ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको मतलाई रद्दीको टोकरीमा फालेर एमालेसँग गठजोड गरी फेरि सत्ता उक्लिने संस्थापन सभापति शेरबहादुर देउवा समूहको योजनालाई भृकुटीमण्डपले ठाडै अस्वीकार गरेपछि अबको कांग्रेसले नीति र नेता बदल्ने निश्चितजस्तै छ।
प्रजातन्त्रको मूल मियो कांग्रेस सत्ता र पार्टी पकड वरपर रुमल्लिँदा पछिल्लो समय गतिहीन, दिशाहीन र जनताको नजरमा छाया परेजस्तो थियो। तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजनपछि भृकुटीमण्डपमा तातेको ऊर्जाले हजुरबा पुस्तालाई बिदाइ गरेर नाति पुस्ता आउने संकेत देखिँदै छन्। आइतबारको भृकुटीमण्डप जमघटमा महामन्त्री थापाले भने, ‘प्रतिनिधिले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ। यो कहाँ गएर टुंगिन्छ। मलाई थाहा छैन।’
महाधिवेशनमा नेताहरूले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गरेर पार्टी रुपान्तरणमा सघाउन आग्रह गरे। उनीहरूले कांग्रेसलाई तोड्न नभई जोड्नका लागि विशेष महाधिवेशन आह्वान गरिएको बताए। विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मत भएकाले यसमा यो पक्ष र त्यो पक्ष नहुने नेताहरूको भनाइ थियो। जेनजी आन्दोलनपछि कार्यकाल सकिए पनि नेता÷कार्यकर्ताको चित्त बुझाउनुको सट्टा पार्टी नेतृत्वमै रहने सभापति देउवा हठले कांग्रेसलाई अप्ठेरो स्थितिमा पुर्याएको उनीहरूको धारणा छ।
६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सभापति देउवा पक्षले अवैधानिक भन्नु कांग्रेस कार्यकर्ता र नेताको अपमान हुने नेताहरूको दाबी छ। कांग्रेसभित्र माथि बस्ने र तल बस्नेबीच खाडल कोरिएकाले अब विशेष महाधिवेशनपछि यसलाई तोडिनेछ। कांग्रेसको यो विशेष महाधिवेशनले नीति र नेता फेर्ने चाहना गरेकाले सभापति देउवाले सहज रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उनीहरुको जोड थियो।
-1768138054.jpeg)
पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताइरहँदा संस्थापन समूह अझै पनि विशेष महाधिवेशनलाई अवैधानिक करार गरिरहेको छ। महाधिवेशनमा नेता चन्द्र भण्डारीले सभापति देउवालाई घेरा छाडेर कांग्रेस हस्तान्तरणमा सघाउन आग्रह गरे। उनले विशेष महाधिवेशन स्थल आएर नेतृत्व हस्तान्तरण गर्दा देउवाको कद अझै माथि पुग्ने धारणा व्यक्त गरे। उनले भने, ‘किसुनजीका अनुयायी आदरणीय शेरबहादुर देउवा दाइ, त्यो घेरा छाडेर कांग्रेस हस्तान्तरण गर्न आएको छु भन्नुस्।’
कांग्रेसमा नीति र नेता बदल्न सभापति देउवा निकट मानिने केन्द्रीय सदस्य पनि उपस्थित भएका छन्। विशेष महाधिवेन स्थल पुगेका कांग्रेस नेता एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय थापा र विश्वप्रकाशलाई देशलाई विकासको खुड्किलामा पुर्¥याउन आग्रह गरे । उनले भने, ‘यो रथयात्रालाई नछाड्नुस्, कुर्नै नसक्ने अवस्थामा पुगेको विकासको खुड्किलामा पुर्याउनुस्। जेनजी आन्दोलनअनुसार कांग्रेस रुपान्तरण हुनुपर्छ। जेनजी आन्दोलन भीड मात्रै नभई विकास र समाज परिवर्तनको पुकार पनि हो।’

नेपालमा निजीकरणको सुरुआतकर्ता मानिने कांग्रेस नेता महेश आचार्यले महामन्त्रीद्वय थापा र विश्वप्रकाश भोलिका कांग्रेस भएको बताएपछि अबको पार्टी पुस्तान्तरको दिशामा जाने पक्का छ। ‘दुई महामन्त्रीलाई शुभकामना छ । उहाँहरू भोलिको कांग्रेस हो। शेरबहादुरजी उहाँका साथीहरूको पुस्ता हिजोको कांग्रेस हो। हिजोका कांग्रेसलाई सम्मान छ। तर, भोलिका कांग्रेसलाई स्वागत गर्न मेची, महाकालीका साथीहरू आज विशेष महाधिवेशनमा उपस्थिति हुनुभएको छ,’ उनले गगन र विश्वप्रकाशको काँधमा पार्टीको अभिभारा आएको बताए।
‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर जनता रिसाएका हुन्। आमनागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्,’ थापाले भने ।

उनले भृकुटीमण्डपमा उर्लिएको जनसागरले पनि विशेष महाधिवेशनको औचित्य देखिएको दाबी गरे। ‘यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनुछ,’ उनले भने। पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहभागी हुन निम्तो दिए पनि नआएको उनको भनाइ थियो। कांग्रेस अब कुनै पनि व्यक्ति–विशेषबाट नचल्ने र विधिविधानले जे भन्छ, त्यही हुने थापाले प्रस्ट पारे।
महामन्त्री थापाले भनेझैं गणतन्त्रमा नेपोबीबीको राज र विश्वप्रकाशले भनेझैं लगातार राज्यको नेतृत्वमा रहने कांग्रेस अब हुने छैन। कांग्रेसमा राजकीय पद र सांसद समेतको कार्यकालसहितको सांगठनिक प्रतिवेदन पेस हुँदै छ। प्रतिवेदनमा प्रधानमन्त्री, राष्ट्रपति, सांसदसमेतको कार्यकाल अवधि तोकिनेछ। अबको कांग्रेस युवा पुस्ता र कार्यकर्तामैत्री हुनेछ।
कांग्रेसको विशेष महाधिवेशन भइरहे पनि सभापति देउवालाई भृकुटीमण्डप जानबाट रमेश लेखक, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशशरण महतलगायत ७ भाइले अवरोध गरेको बुझिएको छ। तर ७ भाइमध्ये गाेपालमान श्रेष्ठ भने महाधिवेशन स्थल पुगेका छन्। उनीहरुले पार्टी विधानअनुसार वैशाखमा महाधिवेशन घोषणा गरिएपछि विशेष महाधिवेशन वैधानिक नहुने भन्दै देउवालाई आश्वस्त पारेका छन्। सोही कारण देउवा रोकिएको हुन सक्ने अड्कलबाजी गरिँदै छ।