काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले संस्थापन पक्षसँग राखेको ८ बुँदे प्रस्ताव देश र कांग्रेसको अहितमा नभएको बताएका छन्।
विशेष महाधिवेशन चलिरहँदा केन्द्रीय कार्यसमितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि महामन्त्री शर्माले संस्थापन पक्षसँग प्रश्न गरेका हुन्।
‘सहमतिका लागि आज बिहान प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र?,’ उनले प्रश्न गरे।
यस्तै, उनले आफूहरूले संस्थापन पक्षका नेताहरूसँग राखेको प्रस्ताव पढेर गम्भीर भएको बताएका छन्। ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ। विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ। अब सही नेतृत्व दिनेछ,’ शर्माले भने।
यसअघि विशेष महाधिवेशन पक्षका महामन्त्री शर्माले सहमतिका लागि महामन्त्रीद्वयले विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने जस्ता प्रस्ताव राखेका थिए।
यस्तै, कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने, यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन पाँच सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने आदि समावेश थिए।