मनाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्। एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन्।
उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ।
कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिस्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ। मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।
रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छन्। उनले स्थायी आवसीय अनुमतिपत्र (पीआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पीआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ। उम्मेदवार थापाले आफ्नो उम्मेदवारीका विषयमा कहीँकतैबाट निर्वाचन आयोगमा उजुरी परेको नभई संविधानअनुसार उम्मेदवार बन्न नमिल्ने भएर पार्टीले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेकाले आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत बताएकी छन्।
उम्मेदवार थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पीआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छ। तर, नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने संवैधानिक व्यवस्था रहेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनले बताइन्।
उम्मेदवार थापाको उम्मेदवारी फिर्ताको निवेदन आएको र त्यसउपर आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।–रासस