काठमाडौं। भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको ‘जेनजी विद्रोह’पछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिको रूपमा उदाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदाताप्रति आभार व्यक्त गरेका छन्। देशभरि पार्टीका उम्मेदवारलाई मतदान गर्ने तथा सद्भाव राख्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति उनले धन्यवाद व्यक्त गरेका हुन्।
घिसिङले चुनावी अभियानमा अहोरात्र खटिने पार्टीका नेता–कार्यकर्ता तथा सहयोगीप्रति विशेष आभार व्यक्त गर्दै विषम परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने प्रधानमन्त्री, मन्त्रिपरिषद् सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद दिएका छन्। उनका अनुसार यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर पनि थियो।
उनले देशलाई नाराभन्दा बढी स्पष्ट दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरे। ‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौं, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,’ घिसिङले भने। अहिले पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको उनको भनाइ छ।
ऊर्जा क्षेत्रका उपलब्धि स्मरण गर्दै उनले एक समय १८ घन्टासम्मको लोडसेडिङको अँध्यारो भोगेको देशलाई साहसी निर्णय र दृढ नेतृत्वले उज्यालोतर्फ लैजान सम्भव भएको उल्लेख गरे। करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको अवस्थाबाट ९९ प्रतिशत घरधुरीमा विद्युत् पुर्याइएको, नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्ने आत्मविश्वास दिलाइएको उनले बताए।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै बन्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौंदेखि अलपत्र परेका विकास आयोजनाको ठेक्का तोड्नेजस्ता काम अघि बढाइएको उनले उल्लेख गरे।
बूढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय हुनु पनि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
घिसिङले पार्टी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिए पनि यसपटक मत परिणाम आफ्नो पक्षमा नआएको बताए। घिसिङ काठमाडाैं क्षेत्र ३ बाट रास्वपा उम्मेदवारसँग पराजित भएका थिए। ‘लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौं, तर मतमा जित्न सकेनौं,’ उनले भने। चुनावमा हारलाई उनले ‘प्राविधिक विषय’ मात्र भएको टिप्पणी गरे।
परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठूलो जनमत दिएको उल्लेख गर्दै देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न सफल हुन शुभकामना दिए। सरकारका राम्रा काममा समर्थन गर्ने र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उज्यालो नेपाल पार्टीको प्रतिबद्धता रहेको उनले बताए।
घिसिङलो निर्वाचन परिणामले निरास नहुन आग्रह गर्दै उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।