काठमाडाैं। लामो समयदेखि सुस्त रहेको नेपालको सेयर बजारले फेरि एकपटक उकालो यात्रा तय गरेको छ। पछिल्लो सातायता नेप्से परिसूचकमा देखिएको दोहोरो अंकको सुधारले लगानीकर्ताहरूमा ठूला दलको राजनीतिक 'टर्निङ प्वाइन्ट' प्रभाव प्रष्ट्याएको छ।
विशेषगरी पुसको अन्तिम साता र माघको सुरुवाती दिन नेपाली राजनीतिक इतिहाससँगै पुँजी बजारका लगानीकर्ताका लागि नयाँ आशा भरोसा बनेको छ। पुस अन्तिमबाट सुरू भएकाे नेपाली कांग्रेसको विशेष महाधिवेशन र माघ १ गते गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि बजारले एकाएक सकारात्मक गति समातेको हो। माघ २ गते निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएसँगै बजारमा सेन्टिमेन्ट थप बलियो भएको सेयर बजार विज्ञहरू बताउँछन्।
सूचक र काराेबार उफ्रियाे
गत पुस २४ गते बिहीबार २६३५ अंकमा बन्द भएको नेप्से परिसूचक कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएर गगन थापा नेतृत्वले कांग्रेसको आधिकारिकता पाएर प्रतिनिधि सभाको टिकट वितरण सम्पन्न भएको भोलिपल्ट माघ ६ गते नेप्से २७१४.८२ अंकमा पुगेको थियो। यो करिब ८० अंकको उल्लेख्य वृद्धि हो।
साथै, त्यसयता नेप्से हरेक कारोबार दिन दोहोरो अंकले वृद्धि हुँदै खर्बौको कारोबार र पुँजीकरणमा चलिरहेको छ। यो साताको पहिलो कारोबार (माघ ११ गते आइतबार) पनि नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७०.९७ बिन्दुमा बन्द भयो। आइतबार दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट समेत लाग्यो।
यस्तै, एक साताअघि पुसको दोस्रो साता २६ सय बिन्दुको बजारमा पौने ५ अर्बको हाराहारीमा कुल कारोबार भएको थियो। कांग्रेसको विशेष महाधिवेशन नजिकिँदै गर्दा बजारमा कारोबार समेत दैनिक रूपमा अर्बौंले बढेको तथ्यांकले देखाउँछ। भने माघ ६ गते पछिल्लो कुल कारोबारभन्दा करिब ४ अर्बले थप भइ पौने १२ अर्ब रुपैयाँ बढीको कुल कारोबार भएको थियो। जुन माघ ११ गते पौने १४ अर्ब रुपैयाँ बढीको भइसकेको छ।

कांग्रेसः बजारमैत्री विचारधारा पार्टी
नेपाली कांग्रेस ऐतिहासिक रूपमा नै निजी क्षेत्र र पुँजी बजारको पक्षधर पार्टीको रूपमा परिचित रहेको छ। उदारवादी आर्थिक नीतिमा विश्वास राख्ने यस पार्टीले सधैं खुला बजार अर्थतन्त्र, निजी क्षेत्रको विस्तार र लगानीमैत्री वातावरणलाई प्रोत्साहन गर्दै आएको इतिहास छ। यसैले पनि कांग्रेसको नेतृत्व परिवर्तन भएपछि बजारमा सकारात्मक सेन्टिमेन्ट आउनु स्वाभाविक मानिएको छ। यसमा पनि थापा जस्ता युवा र प्रगतिशील नेताहरूको नेतृत्व आएपछि बजारले यसलाई अझ उत्साहजनक रूपमा लिएको छ। विगत २५ वर्षको राजनीतिक यात्रामा थापाले देखाएको स्पष्ट आर्थिक दृष्टिकोण र आधुनिक सोचले लगानीकर्ताहरूमा ठूलो विश्वास जगाएको छ।
गगन थापा सम्भावित प्रधानमन्त्रीले थप्यो आत्मविश्वास
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा कांग्रेसको राम्रो प्रदर्शनको सम्भावना र त्यसपछि थापा प्रधानमन्त्रीको रूपमा अगाडि बढ्ने सम्भावनाले बजारमा थप उत्साह थपेको छ। चुनावी समीकरण र जनभावनालाई हेर्दा थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बलियो देखिएको छ। 'थापा प्रधानमन्त्री पदमा आउने सम्भावना बलिएको छ। उहाँको आर्थिक दृष्टिकोण स्पष्ट छ, सुधारवादी सोच छ र बजारमैत्री नीतिप्रति प्रतिबद्धता छ,' एक वरिष्ठ बजार विश्लेषकले नाम नखोल्ने शर्तमा भने, 'यसले बजारमा निकै सकारात्मक सन्देश दिएको छ। लगानीकर्ताहरू अब नयाँ सरकारबाट पुँजी बजार सुधार, नियामक सहजीकरण र लगानीमैत्री नीतिको अपेक्षा गरिरहेका छन्।'
थापाको नेतृत्वमा कांग्रेसले विभिन्न क्षेत्रमा व्यावसायिक दक्षता र सुशासनलाई जोड दिने सङ्केत गरेको छ। उनीहरूले प्रतिनिधि सभाका लागि टिकट वितरणमा पनि युवा, व्यावसायिक र दक्ष उम्मेदवारहरूलाई प्राथमिकता दिएका छन्। यसले व्यावसायिक समुदाय र लगानीकर्ताहरूमा आगामी सरकार बजारमैत्री हुने विश्वास बलियो बनाएको छ।
राजनीतिक स्पष्टताले हट्यो बजारको अन्यौलता
हिजोका दिनमा सेयर बजार सधैं पर्खाइ र हेराइको अवस्थामा थियो। राजनीतिक अस्थिरता, नेतृत्वको अस्पष्टता र नीतिगत दिशाहीनताले लगानीकर्ताहरू सशङ्कित हुन्थे। तर कांग्रेसको महाधिवेशनले एउटा स्पष्ट आधार र जनादेश (म्यान्डेट) दिएपछि लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्न थालेका छन्। निर्वाचन आयोगले चुनावी प्रक्रियालाई तिव्रता दिनु र सबै राजनीतिक दलहरू चुनावमा होमिनुले बजारको अन्यौलता हटेको छ। चुनावको समयमा बजारमा पैसाको परिचालन बढ्ने र नयाँ सरकार गठनपछि आर्थिक गतिविधिले थप गति लिने निश्चित छ।
पछिल्लो कारोबार मूल्यांकनले सेयर बजारका लगानीकर्तामा ठूला राजनीतिक पार्टीका युवा नेतृत्वले स्थिर लगानीमैत्री नीति निर्माण गरी सहज कार्यान्वयनको बाटो खोज्छन् भन्ने विश्वास बढेको प्रष्ट्याउँछ। राष्ट्रिय स्वतन्त्र पार्टीमा मात्रै नभएर कांग्रेसले समेत युवा नेतृत्वलाई अघि बढाएपछि हिजोको दिनका नेतृत्वबाट लगानीकर्ता निराश भएर लगानी नबढाउने र अहिले नयाँ नेतृत्वले आशा जगाएको देखिन्छ। अन्य राजनीतिक दलहरूले पनि यसपटक युवाहरूलाई बढी टिकट दिनु र प्रगतिशील एजेन्डाहरू अघि सार्नुले पनि बजारमा सकारात्मक ऊर्जा थपेको छ। अब बन्ने सरकारले पुँजी बजारका पुराना र झन्झटिला नीतिगत तगाराहरूलाई चिर्नेमा लगानीकर्ता ढुक्क देखिन्छन्।
सकारात्मक सन्देशले चलायो बजार
अहिलेले बजार बढ्नुलाई बजारमा तरलता सहज हुनु र ब्याजदर घट्नुलाई मुख्य प्राविधिक कारण मानिए पनि पछिल्लो समय लगानीकर्ताको आत्मविश्वास फर्किनुमा भने राजनीतिक स्पष्टता र युवा नेतृत्वको उदयले ठूलो भूमिका खेलेको प्रष्ट देखिन्छ। बजारमा प्रयाप्त तरलता भएर न्यून ब्याजदरको अवस्था लामो समयसम्म रहँदा पनि लगानीकर्ताहरूले ढुक्क भएर लगानी गर्न सकिरहेका थिएनन्। 'ुठूला राजनीतिक दलहरूमा पुराना र अनुदारवादी सोच भएका नेतृत्व विस्थापित हुँदै गर्दा अब बन्ने नयाँ सरकारले पुँजी बजारमैत्री नीति ल्याउनेमा लगानीकर्ताहरू ढुक्क छन्,' इन्भेस्टमेन्ट फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले क्यापिटल नेपालसँग भने, 'हिजोको दिनमा इन्डेक्स ३२ सयमा पुग्दा ब्याजदर उच्च थियो र तरलता अभाव थियो। तर धेरै समयदेखि न्यून ब्याजदर र प्रयाप्त तरलतामा पनि इन्डेक्स बढ्न सकेको थिएन। तर कांग्रेसमा थापा लगायतका युवा नेताहरूको उदय र नयाँ पार्टीहरूको आगमनले बजारमा अब नयाँ ऊर्जा र विश्वास लगानीकर्तामा हुँदै गएको छ।'
यही सकारात्मकताले गर्दा अहिले सेयर बजारमा दैनिक उछाल आइरहेको हुँदा अहिले लगानीको वातावरण बनेको उनको भनाइ छ। 'ुकांग्रेसको विशेष महाधिवेशनपछि देखिएको नेतृत्व परिवर्तन केवल एउटा पार्टीको आन्तरिक कुरा मात्र रहेन, यसले त बजारलाई अब युवा र भिजनरी नेताहरूको हातमा जाँदैछ भन्ने सन्देश दिएर लगानीकर्ताको मनोबल ह्वात्तै बढाएको छ। बजारमा पुराना अन्यौलताहरू हटिसकेका छन्। अहिलेको समय लगानीका लागि सबैभन्दा उत्तम वातावरण हो,' उनले भने।

सेयर बजार केवल आर्थिक तथ्यांकले मात्र चल्दैन, यसमा राजनीतिक नेतृत्वप्रतिको भरोसाको ठूलो हात हुन्छ। कांग्रेसमा पुरानो पुस्ता पाखा लागेर युवाहरूको उदयले बजारमा उत्साह थपेको पुँजी बजार विज्ञ अम्बिकाप्रसाद पौडेल बताउँछन्। 'अहिलेको बजारमा देखिएको उछाल विशुद्ध चुनावी इफेक्ट मात्र होइन, यो त राजनीतिमा युवाहरूको हस्तक्षेपकारी उपस्थितिको परिणाम हो। युवा नेतृत्वले पुराना नीतिगत गाँठोहरू फुकाउनेछन् भन्नेमा लगानीकर्ता ढुक्क देखिएका छन्,' पौडेल भन्छन्, 'बजारलाई पैसाले मात्र होइन, सेन्टिमेन्टले चलाउँछ। कांग्रेसको महाधिवेशनपछि पुराना र अनुदारवादी सोच भएका नेताहरू पाखा लाग्नुले लगानीकर्तामा अबका नीतिहरू आधुनिक र बजारमैत्री हुन्छन् भन्ने विश्वास पैदा गरेको छ।'
व्यावसायिक समुदायको भरोसा परिपक्व नेतृत्वमा
लगानीकर्ताले परिपक्क युवा पुस्तालाई विश्वास गर्ने हुँदा कांग्रेसको नयाँ नेतृत्वले चुनावको टिकट पनि सोही अनुसार दिँदा बजारमा सकारात्मक सन्देश गएको विज्ञहरू बताउँछन्। 'स्थापित राजनीतिक दलहरूमा युवा नेतृत्वको आगमनले उद्यमी र लगानीकर्तामा नयाँ आत्मविश्वास जगाएको छ,' पौडेलले भने। पौडेलका अनुसार, १८ देखि ३२ वर्षको युवा पुस्ता (जेनजी) नयाँ शक्तिहरूप्रति आकर्षित भए पनि, बजारलाई डोर्याउने मुख्य लगानीकर्ता र व्यवसायीहरूले भने स्थापित दलभित्रकै भिजनरी युवा नेताहरूलाई बढी विश्वास गर्छन्। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा जस्ता नेताहरूले विगत २५ वर्षको राजनीतिमा आफ्नो स्पष्ट अडान र भिजन देखाएका छन्।
उनीहरूले नेतृत्व लिँदा नीतिगत स्थिरता आउँछ र पुँजी बजारप्रतिको दृष्टिकोण सकारात्मक हुन्छ भन्ने विश्वास लगानीकर्तामा छ। यही विश्वासले गर्दा नै चुनावी अन्यौलताका बीच पनि बजारले सकारात्मक दिशा समातेको हो।
नयाँ युगको सुरुवात
नेपाली कांग्रेसमा देखिएको नेतृत्व परिवर्तन र युवा नेताहरूको उदयले नेपाली राजनीतिमा मात्र होइन, पुँजी बजारमा समेत नयाँ युगको सुरुवात गरेको छ। राजनीतिक युवा नेतृत्वले नयाँ उत्साह मात्र थपेको छैन, यसले मुलुकको अर्थतन्त्र र राजनीतिक नेतृत्वप्रतिको धारणा नै फेरिँदै गएको छ। फागुन २१ को चुनावपछि बन्ने नयाँ सरकारबाट लगानीकर्ताहरू पुँजी बजारमा ठूला सुधारहरूको अपेक्षा गरिरहेका छन्।
यो उकालो यात्रामा कांग्रेसको नयाँ नेतृत्व र विशेषगरी थापाको सम्भावित प्रधानमन्त्री हुनेप्रति बजारको पूर्ण भरोसा देखिन्छ।