काठमाडौं। भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता आजदेखि कार्यान्वयनमा आएको छ। सम्झौता लागू भएसँगै बेलायतबाट भारत आउने विभिन्न वस्तुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा घट्ने भएकाले ती वस्तुहरू सस्ता हुने अपेक्षा गरिएको छ।
गत जुन महिनामै सम्झौता कार्यान्वयनको मिति घोषणा गरिएको थियो। यस सम्झौताअन्तर्गत बेलायती मदिरा, सौन्दर्य सामग्री तथा विलासी सवारीसाधनको मूल्यमा कमी आउनेछ।
मदिरामा ठूलो शुल्क कटौती
हाल भारतमा स्कच मदिरामा १५० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ। सम्झौता लागू भएपछि उक्त शुल्क चरणबद्ध रूपमा घटाएर ४० प्रतिशतमा झारिनेछ। यसरी शुल्कमा कुल ११० प्रतिशतसम्म कटौती हुने भएकाले स्कच मदिराको मूल्य क्रमशः सस्तो हुँदै जानेछ।
विलासी गाडी पनि सस्ता हुने
सम्झौताअनुसार कोटा प्रणालीमार्फत सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर १० प्रतिशतसम्म पुर्याइनेछ। यसले बेलायतबाट आयात हुने ल्यान्ड रोभर, जगुआर, रोल्स–रोयस, एस्टन मार्टिन र डिफेन्डरजस्ता विलासी गाडीको मूल्य घट्ने अपेक्षा गरिएको छ।
पहिलो वर्ष २० हजार गाडी सहुलियतपूर्ण शुल्कमा आयात गर्न पाइनेछ। पेट्रोल इन्जिन क्षमता ३ हजार घन सेन्टिमिटरभन्दा माथि र डिजेल इन्जिन क्षमता २ हजार ५०० घन सेन्टिमिटरभन्दा माथिका १० हजार गाडीमा लाग्ने भन्सार शुल्क ११० प्रतिशतबाट ३० प्रतिशतमा झारिनेछ।
त्यसैगरी १ हजार ५०० देखि ३ हजार घन सेन्टिमिटर क्षमताका ५ हजार गाडीमा लाग्ने आयात शुल्क ६६ प्रतिशतबाट ५० प्रतिशतमा झारिनेछ। आगामी १५ वर्षभित्र यी गाडीमा लाग्ने भन्सार शुल्क क्रमशः घटाएर १० प्रतिशतमा सीमित गरिनेछ।
सौन्दर्य सामग्रीमा पनि राहत
सौन्दर्य सामग्रीसहित विभिन्न उपभोग्य वस्तुमा लाग्ने २२ प्रतिशतसम्मको भन्सार शुल्क तत्काल वा आगामी १० वर्षभित्र चरणबद्ध रूपमा हटाइने व्यवस्था गरिएको छ।
भारतीय वस्तुलाई बेलायतमा शुल्कमुक्त सुविधा
सम्झौताअन्तर्गत भारतीय वस्तुहरूलाई बेलायती बजारमा भन्सार शुल्कमा छुट वा पूर्ण रूपमा शुल्कमुक्त सुविधा दिइनेछ। यसबाट कपडा, जुत्ता, खाद्य सामग्री, रसायन तथा धातुजन्य वस्तुहरूको निर्यातमा लाभ पुग्ने अपेक्षा गरिएको छ।
हाल बेलायतमा कपडा तथा पोसाकमा १२ प्रतिशत, रसायनमा ८ प्रतिशत र आधारभूत धातुजन्य वस्तुमा १० प्रतिशतसम्म शुल्क लाग्दै आएको छ। सम्झौता लागू भएपछि करिब ९९ प्रतिशत भारतीय वस्तु शून्य भन्सार शुल्कअन्तर्गत पर्नेछन्।