काठमाडौं । हिमालयन बैङ्कले यो आर्थिक वर्षमा खुदनाफा ४५.७२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैङ्कले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको हो ।
बैङ्कले तेस्रो त्रैमाशमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । चौथो त्रैमाशमा झण्डै ७२ करोड रुपैयाँ नाफा बढ्ने अनुमान गरेको हो । गत वर्ष बैङ्कले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा बैङ्कले ५ अर्ब १३ करोड रुपैयाँ खुदब्याज आम्दानी गर्ने उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा १४.३६ प्रतिशत बढाएर ३ अर्ब १२ करोड र ०७७/०७८ मा पनि १४.८६ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड रुपैयाँ हुने हुने प्रक्षेपण बैङ्कको छ ।
यो वर्ष बैङ्कको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ अर्को वर्ष ३४ रुपैयाँ ९४ पैसा र ३ वर्षमा ३५ रुपैयाँ ८३ पैसा हुने अनुमान गरिएको छ । तीन वर्षको नेटवर्थमा भएको औषत प्रतिफलः १८.९९ रुपैयाँ रहेको बैङ्कले जनाएको छ ।

आगामी वर्ष ब्याज आम्दानी ५ अर्ब ६० करोड र अर्को वर्ष ६ अर्ब ६० करोड पुग्ने प्रक्षेपण हिमालयनको छ । यो वर्ष निक्षेप परिचालन १७ प्रतिशत बढेर १ खर्ब १५ अर्ब ९४ करोड पुग्ने अनुमान गरिएको छ । यस्तै आगामी वर्ष १३.७९ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ९३ करोड र ३ वर्षमा १२.४५ प्रतिशत बढेर १ खर्ब ४८ अर्ब ३५ करोड रुपैयाँ पुग्ने प्रक्षेपण हिमालयनको छ ।
यस्तै कर्जा सापटी १८.१९ प्रतिशत बढेर ९७ अर्ब ३६ करोड, आगामी वर्ष १४.८९ प्रतिशत बढेर १ खर्ब ११ अर्ब ७८ करोड र ३ वर्षमा १६.६१ प्रतिशत बढेर १ खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बैङ्कको निक्षेपको औसत ब्याजदर ५.६४, आगामी वर्ष ५.५७ र ३ वर्षमा ५.२४ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

यस्तै कर्जा सापटीको ब्याज यो वर्ष ११.५, आगामी वर्ष ११.११ र तेस्रो वर्षमा घटेर १०.८६ प्रतिशत हुने अनुमान हिमालयनको छ ।
विगत केही समयदेखि बैङ्किङ क्षेत्रले सामना गरिरहेको निक्षेपको समस्या आगामी दिनहरुमा क्रमशः सहज हुँदै जाने तथा ऋणयोग्य पूँजीमा सोही अनुरुप वृद्धि हुने अनुमान सहित वित्तीय अवस्थाको प्रक्षेपण गरिएको हिमालयनले स्पष्टपारेको छ ।
बैङ्ककको नीति अन्तर्गत शाखा सन्जालमा हुने वृद्धि तथा बैंकले उपलब्ध गराउने नयाँ निक्षेप योजनाहरु समेतलाई ध्यानमा राखी निक्षेपको प्रक्षेपण गरिएको हिमालयनले स्पष्ट पारेको छ ।
बैङ्कले अवलम्बन गरेको खर्च मितव्ययिताको सिद्धान्तलाई आगामी दिनहरुमा अझ बढी सुध्रिढ गर्दै लैजाने नीति, खर्चहरुको अनुमान गरी सोही अनुरुप नाफा तथा अन्य वित्तीय सूचकाँकहरु प्रक्षेपण गरिएका छन् ।
उल्लेखित वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु हालको वित्तीय बजारको स्थिती, निष्काशनकर्ता बैङ्कको हालको दक्षता र निष्काशनकर्ताले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा पुनरावलोकन गरी ठिक विवरण ठीक छ भनी श्री आर.के. एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट्स्ले प्रमाणित गरेको बैङ्कले जनाएको छ ।
हिमालयनले साउन २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । लगानीयोग्य पुँजी जुटाउन बैङ्कले प्रतिकित्ता १ हजार अंकित मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
ऋणपत्र निष्कासन बन्द छिटोमा साउन ६ र ढिलोमा साउन ३१ गतेलाई तोकिएको छ । न्युनतम २५ देखि ३० लाख कित्तासम्म दिन सकिने बैङ्कले जनाएको छ । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । ७ वर्षपछि ऋणपत्रको रकम फिर्ता हुनेछ ।