काठमाडौं । पर्यटन क्षेत्रपछि सबैभन्दा बढी रोजगारी प्रदान गर्ने कपडा उद्योग लामो समयदेखि थिल्थिलो बनेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नु अघि नै स्वदेशी कपडा उद्योग धरासायी हुँदै गएको थियो । त्यसपछि कोरोना महामारीले कपडा उद्योगी थप संकटमा परेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले जानकारी दिए ।
‘निकै लामो समयदेखि नेपालको कपडा उद्योग संकटमा परेको छ । हामीले पटक पटक सरकारलाई यस विषयमा आग्रह पनि गरेका छौं,’ प्रगति टेक्स्टाइलका प्रबन्ध निर्देशक समेत रहेका लोहियाले भने, ‘हजारौलाई रोजगारी प्रदान गरेको कपडा उद्योग अहिले झन गम्भीर अवस्थामा पुगेको छ ।’
कपडा उद्याेग संघले सरकारलाइ दिएकाे सुझावकाे पूर्णपाठ
सरकारले न्यूनविजीकरण भएर आउने कपडालाई रोक्न नसक्नु, सरकारले भनेको सहुलियत उपलब्ध नगराउनु, भारतको तुलनामा नेपालमा कपडामा लगाइने कर उच्च हुनु लगायतका कारण देशभित्रको उद्योग संकटमा परेको लोहियाले बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कपडा उद्योगीको समस्यालाई सम्बोधन नगरे धेरै उद्योग बन्द हुने र संयौ व्यक्तिहरुले रोजगारी गुमाउने अवस्था आउने लोहियाले जानकारी दिए ।
यदि सरकारले सहुलियत दिन सकेमा ५ लाख भन्दा बढी रोजगारी र अर्बौै रुपैयाँ राजस्व बुझाउन उद्योगीहरु तयार रहेको उनको भनाइ छ । अहिले कोरोना महामारीका कारण विश्वभर पुगेका धेरै नेपाली रोजगारी गुमाएर स्वदेश फिर्ता हुँदै छन् । अब पनि सरकारले बढी रोजगारी सिर्जना गर्ने उद्योगलाई संरक्षण गर्न नसके आगामी दिन झन भयावह हुने उनको भनाइ छ ।