काठमाडौं। नेपालमा रियलस्टेट विकास तथा लगानी प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यले सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सजिलो एसेट म्यानेजमेन्ट नेपालमा आवासीय, व्यावसायिक, मिश्रित उपयोग तथा प्लटिङ हाउजिङ परियोजनाको विकास, निर्माण, बिक्री तथा मार्केटिङ कार्यमा संलग्न कम्पनी हो। कम्पनीले गुणस्तरीय पूर्वाधार विकास र व्यवस्थित आवासीय योजनामार्फत आधुनिक सहरीकरणमा योगदान पुर्याउँदै आएको छ।
ओमेगा क्यापिटल भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गासम्बन्धी कारोबार गर्न इजाजत प्राप्त कम्पनी हो। कम्पनीले घरजग्गा खरिद–बिक्री तथा लेनदेन सहजीकरण गर्ने, परियोजना बिक्री तथा मार्केटिङ परामर्श दिने, रियलस्टेट लगानी परामर्श सेवा प्रदान गर्ने, सम्पत्ति मूल्यांकन तथा बजार विश्लेषण गर्ने, लगानीकर्ता समन्वय तथा पुँजी व्यवस्थापन सहयोग गर्ने, कानुनी तथा प्रक्रियासम्बन्धी परामर्श सेवा उपलव्ध गराउने, कानुनी प्रक्रिया तथा कागजी कार्यसम्पादन परामर्श दिनेलगायत काम गर्दै आइरहेको छ।
ओमेगा क्यापिटलले काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा, वीरगञ्ज महानगरपालिका, हेटौंडा उपमहानगर, धरान, इटहरी, बुटवल, जीतपुर सिमरा, घोराही, तुल्सीपुर, नेपालगञ्ज, धनगढी, जनकपुर उपमहानगरमा सेवा दिन इजाजत पाएको छ।
समझदारीपत्रअन्तर्गत सजिलो एसेट म्यानेजमेन्टद्वारा विकास गरिने परियोजनाको बिक्री व्यवस्थापन, बजार विस्तार, लगानीकर्ता समन्वय तथा सम्पूर्ण लेनदेन सहजीकरण कार्य ओमेगा क्यापिटल एडभाइजर्सले गर्नेछ।
सहकार्यले रियलस्टेट क्षेत्रमा व्यावसायिकता, पारदर्शी, विश्वसनीय कारोबार प्रणाली विकास गर्न तथा संस्थागत लगानी प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।