काठमाडाैं। नेपाली बजारमा चर्चामा रहेको बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरको रेञ्ज रोवर गाडीको स्वामित्वबारे विवाद चलिरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका व्यवसायी दीपक भट्टसँग यो गाडी जोडिएको चर्चा चलेपछि विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा गाडीलाई समेत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउने निर्देशन दिएको थियो।
तर क्यापिटल नेपालले प्राप्त गरेका कागजातहरू अनुसार यो गाडी कानुनी रूपमा भट्टको नभई जगदम्बा मोटर्स प्रा.लि.को नाममा दर्ता रहेको देखिन्छ।
यातायात विभागको रेकर्डमा के छ?
यातायात व्यवस्था विभागको रेकर्ड अनुसार उक्त गाडी जगदम्बा मोटर्सका नाममा दर्ता रहेको देखिन्छ, भट्टका नाममा होइन। गाडी सन् २०२५ मोडलको ग्रिन कलरको रेञ्ज रोवर हो, जसको च्यासिस नम्बर SALKA9A4XRA247263 र इन्जिन नम्बर 240522Z0445PT306 रहेको रेकर्डमा देखिन्छ। यो गाडी बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरमा दर्ता भएको जनाइएको छ।
यातायात विभागले उपलब्ध गराएकाे लगायत अन्य आधिकारिक विववरण
६ करोड ३० लाखको भ्याट बिल र खरिद प्रक्रिया
क्यापिटल नेपालले प्राप्त गरेका कागजातहरू अनुसार जगदम्बा मोटर्सले अरेटे इन्टरनेशनल प्रालिबाट उक्त रेञ्ज रोवर खरिद गरेको देखिन्छ। अरेटे इन्टरनेशनलले जगदम्बा मोटर्सको नाममा जारी गरेको भ्याट बिल मा गाडीको विवरण उल्लेख छ- च्यासिस नम्बर, इन्जिन नम्बर, रङ र दर्ता नम्बर सबै यातायात विभागको रेकर्डसँग मिल्दोजुल्दो छ। बिलमा कर योग्य रकम रु. ५,५७,५२,२१२.३९ र १३ प्रतिशत भ्याट रु. ७२,४७,७८७.६१ गरी कुल रु. ६,३०,००,००० (६ करोड ३० लाख) तिर्ने गरी मिति ०७ नोभेम्बर २०२५ (२०८२ कात्तिक २१ गते) कारोबार भएको देखिन्छ।
यस खरिदसँग सम्बन्धित रसिद, चेक र बैंक स्टेटमेन्ट समेत क्यापिटल नेपालसँग उपलब्ध छन्। अरेटे इन्टरनेशनलले जगदम्बा मोटर्सबाट सोही रकम बुझेको रसिद जारी गरेको देखिन्छ, जसमा एभरेस्ट बैंक लिमिटेडको चेक नम्बर ०६१२४४२५६ मार्फत रु. ६,३०,००,००० भुक्तानी भएको उल्लेख छ। साथै जगदम्बा मोटर्सको एभरेस्ट बैंक खाताको स्टेटमेन्टमा पनि सोही मिति र चेक नम्बरमा रु. ६,३०,००,००० डेबिट भएको देखिन्छ, जसले खरिद कारोबार वित्तीय रूपमा समेत पुष्टि गर्छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा के अभिलेख छ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले जगदम्बा मोटर्स प्रालि (प्रा.लि. नं. ७८८५६) सम्बन्धमा जारी गरेको पत्र अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्मका विवरणहरू पेश गरेकाले कम्पनी अद्यावधिक रहेको र शेयरधनीमा भएका कामकारबाहीको जिम्मेवारी कम्पनी र यसका सञ्चालक तथा पदाधिकारीहरूको रहने गरी अभिलेख गराइएको उल्लेख छ।
जगदम्बा माेटर्सकाे स्वामित्वकाे विवरण
कम्पनीको शेयरधनी दर्ता किताबको अभिलेख अनुसार जगदम्बा मोटर्स प्रालिमा शाहिल अग्रवाल (बाबुको नाम शंकरलाल अग्रवाल, ठेगाना काठमाडौं महानगरपालिका वडा नं. ०४) एक्लैको १,००,००,००० शेयर अर्थात् शतप्रतिशत स्वामित्व रहेको देखिन्छ। शाहिल अग्रवाल नै कम्पनीको संस्थापक तथा सञ्चालक रहेको र कम्पनी दर्ता मिति २०७७/०३/२६ रहेको कागजातमा जनाइएको छ।
यी कागजातहरूले एकातिर गाडी जगदम्बा मोटर्सको स्वामित्वमा रहेको र सोको खरिद प्रक्रिया, भुक्तानी तथा कम्पनी स्वामित्व सम्बन्धी कागजी आधार देखाउँछन्। अर्कोतर्फ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको घरमा यो गाडी फेला परेको आधारमा यसलाई भट्टकै सम्पत्ति भनी जिकिर गरेको थियो।
अदालतकाे आदेश

गाडी भट्टको निवासमा कसरी र किन पुग्यो, जगदम्बा मोटर्स र भट्टबीच कुनै व्यावसायिक वा व्यक्तिगत सम्बन्ध छ कि छैन, र अनुसन्धान विभागले यो गाडी भट्टकै हो भनी निष्कर्षमा पुग्नुको आधार के थियो भन्ने प्रश्नहरू अझै अनुत्तरित छन्। कानुनी रूपमा दर्ता स्वामित्व र वास्तविक उपभोग वा नियन्त्रणबीच फरक हुनसक्ने भएकाले यस विवादको अन्तिम टुङ्गो अदालत र अनुसन्धान निकायकै थप प्रक्रियाबाट मात्र हुनेछ।